काठमाडौं । घरेलु टोली नेदरल्याण्ड्सविरुद्धको पहिलो एकदिवसीयमा पाहुना टोली पाकिस्तान विजयी भएको छ ।
नेदरल्याण्डको रोटरड्याममा मंगलबार भएको खेलमा पाहुना टोली १६ रनले विजयी भएको हो ।
यस जितसँगै पाहुना टोलीले तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा १-० को अग्रता बनाएको छ ।
पाहुना टोलीले दिएको ३ सय १५ रनको लक्ष्य पछ्याएको घरेलु टोली ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९८ रन मात्र बनाउन सक्यो। उसका लागि बिक्रमजित सिंह,स्कट एडवार्ड र टम कुपरले अर्धशतकीय ईनिङ खेले ।
बिक्रमजित र कुपरले समान ६५/६५ तथा कप्तान स्कट एडवार्डले अविजित ७१ रन बनाए । लोगन भान बिकले २८ रन बनाए। बास डि लिडीले १६ तथा टिजा मानुरुले १५ रन बनाए ।
पाहुना टोलीका हरिस रउफ तथा नसिम शाहले समान ३/३ र मोहम्मद नवाज तथा मोहम्मद वासिमले समान १/१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १४ रन बनाएको थियो । उसका लागि फकर जमानले १ सय ९ रनको शतकीय ईनिङ खेले ।
कप्तान बाबर अजामले ७४ रनको अर्धशतकीय ईनिङ खेले । सादाव खानले अविजित ४८ तथा आगा सलमानले अविजित २७ रन बनाए । खुल्सदिल शाहले २१ तथा मोहम्मद रिजवानले १४ रन बनाए ।
घरेलु टोलीका लोगान भान विक तथा बास डि लिडीले समान २/२ विकेट लिए । भिभिएन किंग्माले १ विकेट लिए ।
दुई टोलीबीचको दोस्रो एकदिवसीय बिहिबार रहेको छ ।