‘हार्डकोर अस्ट्रेलियाको फ्यान’ कुशल !

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा लेगस्पिनर कुशल भुर्तेलका लागि मार्च २०१४ जीवनकै अविस्मरणीय महिना हो।
त्यही बेला उनले पहिलोपटक टेलिभिजनमा नेपालले टी–२० विश्वकप (बंगलादेशमा भएको) खेलेको प्रत्यक्ष हेरेका थिए।
अफगानिस्तानविरुद्ध नेपालले ९ रनको ऐतिहासिक जित निकाल्दा उनी देशभरका समर्थकझैं उत्साहित भएका थिए। तर, त्योभन्दा अघि भने उनी ‘हार्डकोर अस्ट्रेलिया फ्यान’ थिए। ‘डारेन सामीले जेम्स फक्नरलाई अन्तिम ओभरमा दुई छक्का हानेर खेल जिताउँदा म रोएको थिएँ,’ भुर्तेल हाँस्दै सम्झन्छन्,‘तर नेपालले अफगानिस्तानलाई हराएपछि मेरो सोच नै बदलियो। त्यही क्षणदेखि नेपालका लागि खेल्ने सपना देख्न थालें।’

हाल भुर्तेल २०२६ को टी–२० विश्वकप खेलिरहेका छन्। उनको यो दोस्रो विश्वकप हो। तर, प्रतियोगिताको तालिका सार्वजनिक हुँदा उनले सबैभन्दा पहिले नेपाल र अस्ट्रेलिया एउटै समूहमा छन् कि छैनन् भनेर हेरेका थिए। ‘हामी एउटै समूहमा नभएकामा अलि निराश भएँ। तर, यदि सुपर एट्स पुग्यौं भने… कसलाई थाहा?,’ उनी आशावादी देखिन्छन्।
फुटबलबाट क्रिकेटतर्फ
सुरुआती दिनमा भुर्तेल फुटबल पनि खेल्थे। ‘२०११ सम्म फुटबल खेल्थे|, किनकि खर्च कम लाग्थ्यो,’ उनी भन्छन्। उनका बुबा दक्षिण कोरियामा काम गर्थे। २०११–१२ मा नेपाल फर्किएपछि बुबाले उनलाई क्रिकेटमा लाग्न प्रेरित गरे।
औपचारिक प्रशिक्षण सुरु गरेको दुई वर्षमै उनले २०१६ को यु–१९ विश्वकपमा नेपालबाट प्रतिनिधित्व गरे। टोली क्वार्टरफाइनलसम्म पुग्यो। तर, त्यसपछि १९ वर्षको उमेर पार गरेपछि अवसरहरू कम भए। विशेषगरी क्रिकेट संघ (क्यान) आईसीसीबाट निलम्बित हुँदा अन्तर्राष्ट्रिय गतिविधि सीमित भए।

२०१७ मा भुर्तेल, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, सन्दीप जोरा र कमल ऐरी पाँच जना फरक–फरक ठाउँका खेलाडी काठमाडौंमा सँगै बस्न थाले। ‘हामीले दुई कोठे फ्ल्याट ७ हजार रुपैयाँमा भाडामा लिएका थियौं,’ भुर्तेल सम्झन्छन्,‘बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म अभ्यास, त्यसपछि खाना पकाउने र भाँडा माझ्ने पालो–पालो। त्यो समय अविस्मरणीय छ।’
उनीहरूबीच कुनै ईर्ष्या वा झगडा हुँदैन थियो। त्यसैले एउटै लक्ष्य थियो, नेपालका लागि सँगै खेल्ने। त्यो सपना २०२४ को टी–२० विश्वकपमा पूरा भयो। अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गरेको उक्त विश्वकपमा पाँचै जना टोलीमा परे। २०२६ संस्करणमा भने भुर्तेल, पौडेल, ऐरी र जोरा सहभागी छन्।
संघर्ष र अनुशासन
२०१८ मा भुर्तेल सेनामा खेलकुद कोटाबाट जागिरमा प्रवेश गरे। त्यसले काठमाडौंमा बस्न र प्रशिक्षण जारी राख्न आर्थिक आधार दियो। ‘कहिलेकाहीँ साथीहरूसँग पैसा नहुँदा दीपेन्द्र र म मिलेर भाडा तिर्थ्यौं,’ उनी भन्छन्।

२०२१ मा पोखरा प्रिमियर लिग (पीपीएल) मा उत्कृष्ट प्रदर्शनपछि उनले अन्तर्राष्ट्रिय डेब्यू गर्ने मौका पाए। त्यसयता उनी मिडल अर्डरबाट आक्रामक ओपनरमा रूपान्तरण भए। साथै उपयोगी लेगस्पिनर पनि बने।
‘हरेक क्याम्पमा ४००–५०० बल स्पट बलिङ गर्थें। गुग्ली पनि त्यसरी नै सिकें,’ उनी बताउँछन्।
लेगस्पिनमा लाग्नुको कारण भने रोचक छ। ‘मेरो ढाडमा समस्या देखियो,’ उनी हाँस्दै भन्छन्,‘हामीसँग वासिङ मेसिन थिएन। वर्षौँ भाँडा र लुगा हातैले धुँदा कम्मर दुख्न थाल्यो। त्यसपछि पेस बलिङ छाडेर स्पिनतर्फ लागें। भगवानलाई धन्यवाद दोस्रो सीप सिक्ने मौका मिल्यो।’
उनको स्पिनले २०२६ विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध नेपालले ऐतिहासिक प्रदर्शन गर्यो। उनले एडन मार्कराम र हेनरिख क्लासेनजस्ता ब्याटरलाई आउट गर्दै सर्वाधिक ४ विकेट लिए। नेपाल एक रनले पराजित भए पनि त्यो खेलले उनको आत्मविश्वास बढायो।

भुर्तेल आफ्नो सफलाको श्रेय पूर्वप्रशिक्षक मोन्टी देसाई, मनोज प्रभाकर र हालका प्रशिक्षक स्टुअर्ट ललाई दिन्छन्। ‘मोन्टी सरले मैदानभित्र मात्र होइन, बाहिर पनि धेरै सिकाउनुभयो। अनुशासन र टिम बन्डिङबारे धेरै सिकें,’ उनी भन्छन्।
बिहीबार वानखेड़े स्टेडियममा इटालीविरुद्ध खेल्दा देसाई स्ट्यान्डबाट हेरिरहेका हुनेछन्। भुर्तेल र उनको टोलीले निरन्तर प्रगति गरिरहेमा एक दिन अस्ट्रेलियासँग विश्वकपमा भिड्ने उनको बाल्यकालको सपना पनि साकार हुन सक्नेछ।







-1770830065585.jpeg&w=3840&q=75)




