पोखरा । एसियन टेनिस फेडेरेशन (एटिएफ) यू–१४ टेनिस च्याम्पियनसिप सर्किट १ र २ को प्रतियोगिता पोखरामा सोमबार सुरु हुने भएको छ ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा हुने प्रतियोगितामा नेपालसहित पाकिस्तान, भारत र हङकङका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । १० वर्ष भन्दा माथी र १४ वर्ष भन्दा मूनीका महिला तथा पुरुष दुवैतर्फ १ सय भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्ने संघका सचिव नविन चालिसेले बताए ।
नेपालबाट पुरुष जुनियर यू–१४ तर्फ एसियामा २४ औं वरीयता तथा नेपालका शीर्ष वरीयता प्राप्त खेलाडी आरभ हाडा, एसियामा १६० औं वरीयता तथा नेपालमा दोस्रो वरीयताका अकी जुवेन राउत र एसियाका १६६ औं वरीयता तथा नेपालमा तेस्रो वरीयता प्राप्त प्रणाम मानन्धरले खेल्नेछन् ।
महिलातर्फ एसियाका ६० औं वरीयताकी सलोनी तामाङ, ६७ औं वरीयताकी इशा श्रेष्ठ र ११२ औं वरीयताकी इशा श्री शाहले खेल्नेछिन् ।
यस प्रतियोगितामा १ देखि १० औं स्थानका विजेता खेलाडी वाइल्ड काड्र्र मार्फत सोझै ग्राण्डस्लाम खेल्न पाउने प्रावधान रहेको छ ।