काठमाण्डौं । डा.खगेन्द स्पोर्टस् फाउन्डेसनले खेलकुद सम्वन्धी गीत बजारमा ल्याउने भएको छ । फाउन्डेसनले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै ६ वर्ष अघि नै तयार भएको गीत ९ असारमा ओलम्पिक डे को अवसर पारेर सार्वजनिक गरिने बताएको छ ।
गीत ६ वर्ष अघि नै तयार भएपनि विविध कारणले त्यतिबेला सार्वजनिक गर्न नसकेको र अहिले भिडियोसहित गीत बजारमा ल्याउन लागेको बताए । फाउन्डेसनका अध्यक्ष खगेन्द्र बहादुर श्रेष्ठले सबैमा खेलकुद प्रति जागरण तथा अभिरुचि बढाउने उद्देश्यले खेलकुदका गीतहरु तयार पारिएको बताए । ‘खेलकुदलाई विषयवस्तु बनाएर रचना गरिएका गीतहरु नगन्य मात्रामा रहेको छ ।’ अध्यक्ष श्रेष्ठले भने, ‘त्यसैले मैले एकल प्रयासमा नै गीत तयार पारेका हो । आशा छ, यो खेलकुद सम्वन्धी गीत सबैको मुखमा गुन्जनेछ ।’
एल्वममा तीन गीतहरु समावेश रहेका छन् । सबै गीतमा डा. खगेन्द्र श्रेष्ठले नै स्वर भरेका छन् । गीतको लोकार्पण भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा ९ असारमा हुनेछ ।
फाउन्डेसनले स्थापनाकाल देखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी तथा पदक विजेताहरुलाई सम्मानित गरिसकेको छ । फाउन्डेसनको स्थापना २०६५ मा भएको थियो ।