काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को नव निर्वाचित कार्यसमितिका पदाधिकारीको सपथ ग्रहण भोलि बुधबार हुने भएको छ ।
नव निर्वाचित कार्यसमितिको पद तथा गोपनीयताको सपथ बुधबार साँझ ५ बजे हुने भएको हो ।
काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सोमबार भएको निर्वाचनबाट पंकज बिक्रम नेम्बाङ अध्यक्षमा निर्वाचित भएका थिए ।
अध्यक्षका अर्का प्रत्यासी तथा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्बाङ अध्यक्षमा निर्वाचित भएका हुन् । उनी शेर्पाको नेतृत्वको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका थिए ।
वरिष्ठ उपाध्यक्षमा बीरबहादुर खड्का निर्वाचित भए ।
यस्तै उपाध्यक्षमा दावा लामा, दिपक खतिवडा, बिराट जंग शाही र दुर्गा बहादुर केसी निर्वाचित भएका थिए ।
महिला सदस्यमा सरिला श्रेष्ठ र पेमा डोल्मा लामा निर्वाचित हुँदा सदस्यमा मनिष जोशी, अनिल मल्ल, रबिन्द्र चन्द, विकास नारायण श्रेष्ठ,भोजराज शाही, महेन्द्र क्षेत्री, पुरुषोतम थापा,रमेश ब्यन्जनकार, मनिराज विष्ट,टिकाराम लामा,भरत बुढा थापा निर्वाचित भए ।
बाँकी दुई सदस्य भने आगामी एन्फा महाधिवेशनले तय गर्नेछ । दीपक थापा क्षेत्री, रुपेश अधिकारी, दीपेन्द्र धिमाल र लोकेन्द्र गुरुङले ३९ मत प्राप्त गरेपछि एन्फाको विधान र फिफा र एएफसी प्रतिनिधिहरूको सुझावअनुसार आगामी एन्फा महाधिवेशनबाट दुई सदस्य तय गरिने एन्फाले जनाएको छ ।
यस्तै महासचिव र कोषाध्यक्ष भने मनोनित हुनेछन् ।