काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले आफु नेपाली फुटबलबाट टाढा नजाने बताएका छन् ।
एन्फाको नयाँ नतृत्व चयनका लागि सोमबार भएको निर्वाचनमा पराजित भएपछि शेर्पाले फुटबलबाट आफु टाढा नजाने बताएका हुन् ।
तर, शेर्पाले आफु 'डर्टी पोलिटिक्स' बाट टाढिने बताए ।
'क्लबलाई बलियो बनाउने काम गर्छु । क्लबको एकेडेमी खोल्छु । ग्रासरुटका कार्यक्रम संचालन गर्ने र नेपाली फुटबलबाट टाढा हुँदिन तर डर्टी पोलिटिक्सबाट टाढा हुन्छु,' हिमालयन शेर्पा क्लबका अध्यक्ष समेत रहेका शेर्पाले भने।
काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा भएको निर्वाचनमा शेर्पा पंकज बिक्रम नेम्बाङसँग पराजित भएका थिए ।
नेम्बाङले ४५ मत प्राप्त गर्दा शेर्पाले ३९ मत प्राप्त गरे ।
शेर्पाले एन्फाको विजयी टिमलाई बधाई समेत दिए ।
'नयाँ टिमलाई सफलता मिलोस् मेरो शुभकामना छ । नेपाली फुटबल विगतभन्दा व्यवस्थितरुपमा अगाडि बढ्नु पर्छ,' उनले भने ।
यस्तै शेर्पाले नेपाली फुटबल सञ्चालन गर्न सोचेकोभन्दा गाह्रो रहेको बताए ।
उनले अध्यक्ष नेम्वाङले सुशासनको कुरा उठाएको र आफ्नो कार्यकालमा त्यसको सुरुआत भइसकेको समेत बताए ।
शेर्पाले आफुले नयाँ कार्यसमितिलाई सहयोग गर्ने बताए ।