काठमाडौं । पूर्व प्रशिक्षक कुमार कटुवालले खेलाडीको हकहित, अधिकार र सेवा सुविधाका लागि आफुले अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताएका छन् ।
कटुवालले शनिबार पत्रकार सम्मेलन गर्दै खेलाडीको हकहितसँगै नेपाली फुटबल विकासका लागि आफुले उम्मेदवारी दिएको बताएका हुन् ।
कटुवालले आफु कुनैपनि प्यानलबाट नभई स्वतन्त्र उम्मेदवारी दिएको जानकारी गराए । उनले आफु निर्वाचित भएमा पाउने बैठक भत्ता तथा अन्य सेवा सुविधा नलिने बताए ।
'नेपाली फुटबल खस्किदै गएको छ । यसलाई उकास्न र खेलाडीहरुको हकहित, अधिकार सेवा सुविधा सुनिश्चित गर्न मैले उम्मेदवारी दिएको हुँ,' उनले पत्रकार सम्मेलनमा भने, 'म सदस्य भएमा मैले पाउने भत्ता र अन्य सुविधा केही लिने छैन ।'
एन्फाको केन्द्रीय निर्वाचन असार ६ गते सोमबार हुदैंछ । एन्फा निर्वाचनमा वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङको प्यानल चुनावी दौडमा छन् ।
राष्ट्रिय महिला फुटबल टिमका पूर्व प्रशिक्षक कटुवालले २०४५ सालदेखि २०७७ सालसम्म राष्ट्रिय खेलकुद परिषद (राखेप) को प्रशिक्षकको रुपमा काम गरेका थिए ।
यस्तै उनले थ्री स्टार, ब्वाइज युनियन, नेपाल पुलिस क्लबको प्रशिक्षण सम्हालेका थिए ।