काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आसन्न केन्द्रिय निर्वाचनमा सदस्य पदका लागि उम्मेदवारी दिएका कृष्ण मुरारी गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
गुरुङले शनिबार पत्रकार सम्मेलन गर्दै उम्मेदवारी फिर्ता लिएको जानकारी गराएका हुन् ।
हाम्रो फुटबल नेपालका अध्यक्ष समेत रहेका गुरुङले फुटबलको राजनीति सोचेको भन्दा फरक रहेको कारण उम्मेदवारी फिर्ता लिएको बताए ।
'जुन उत्साहले सोचिएको थियो तर सोचेकोभन्दा फरक फुटबल भित्रको गतिविधि रहेछ । पहुँचभन्दा बाहिरको विषय ठाने । राजनीति र फुटबल राजनीति फरक रहेछ,' उनले भने, 'लडाइमा जाने तर हतिहार पनि आफूसँग नभएपछि यसकाे अर्थ नभएर उम्मेदवारी फिर्ता लिने निर्णय गरे । उम्मेदवारी फिर्ता लिने समय सकिएकाले मेरो नाम भने एन्फामा रहिरहनेछ । तर, मैले नाम फिर्ता लिएपछि मेरो प्रतिस्पर्धा हुनेछैन । मैले जित्ने सम्भावना छैन र जिते पनि जादिन।'
गुरुङले सिन्धुली जिल्लाको फुटबलका लागि आफुले उम्मेदवारी फिर्ता लिएको बताए । उनले सिन्धुलीलाई एन्फाको भोटिङ अधिकार दिलाउन आफुले पहल गरेको तर सिमीत व्यक्तिहरुको कारण भोटिङ अधिकारी नपाएको बताए ।
गुरुङले आफु २०१९ बाट फुटबलमा लागेको बताए । हाम्रो फुटबल नेपाल नामक संस्थाबाट आफुले फुटबल गतिविधि र सहयोग गर्दै आईरहेको बताए ।
एन्फाको केन्द्रीय निर्वाचन असार ६ गते सोमबार हुदैंछ । एन्फा निर्वाचनमा वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङको प्यानल चुनावी दौडमा छन् ।