काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले नेपालमा लगानी भित्र्याउन रुसका गैरआवासीय नेपाली (एनआरएन) लाई आग्रह गरेका छन् ।
रसियन सरकारको औपचारीक निमन्त्रणामा रुसको भ्रमणमा रहेका मन्त्री गहतराजले एनआरएनका पदाधिकारीहरुसँगको छलफलका क्रममा नेपालमा लगानी भित्र्याउन आग्रह गरेका हुन् ।
गैरआवासीय नेपाली संघ (एनआरएन) र नेपाली दुतावासद्धारा आयोजित विशेष भेटभाट कार्यक्रममा बोल्दै मन्त्री गहतराजले आफूले सिकेको सिप तथा लगानी नेपालमा सदुपयोग गर्न अनुरोध समेत गरे ।
नेपालमा लगानीको वातावरण बन्दै गईरहेकाले देशको आर्थिक विकासकालागि सरकारको साझेदार बन्न मन्त्री गहतराजले आग्रह गरे । विगतका असहजता र समस्याहरुलाई हल गर्दै नेपाल अहिले नयाँ ठाउँमा पुग्न सफल भएकाले पछिल्लो समय सबैमा देशभित्रै केही गर्नुपर्छ भन्ने भावनाको विकास हुँदै गएको उनले बताए ।
विदेशमा आर्जन गरेको सिप र स्विफ्ट मनीले नेपालमै केही गर्नुपर्छ भन्ने संकल्पको भावनालाई कसरी ब्यवस्थित गर्ने भन्ने बारे सरकारी तहबाट छलफल भईरहेको बताउँदै मन्त्री गहतराजले नेपालमा लगानी भित्राउन रुसमा रहेका नेपालीहरुलाई आग्रह गरेका हुन्।
अवसर र सम्भावनाको हिसाबले नेपाल नयाँ ठाउँमा पुगेकाले आगामी दिनमा नेपालको भविष्य सुखद रहेको मन्त्री अथकले दावी समेत गरे ।
कार्यक्रममा मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, रसियास्थित नेपाली दुतावासका कर्मचारी तथा एनआरएनका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।