काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आसन्न निर्वाचनमा मताधिकार पाउने 'सी' डिभिजन लिग क्लबको टुंगो लागेको छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कप्लेक्समा शुक्रबार भएको प्रतिनिधि छनोटको निर्वाचनबाट 'सी' डिभिजनबाट मताधिकार पाउने ९ क्लबको तय भएको हो ।
'सी' डिभिजन खेल्ने १४ क्लबमध्ये ९ क्लबले मताधिकार पाउने व्यवस्था रहेको छ । जसमा अध्यक्षको प्रत्यासी पंकजबिक्रम नेम्बाङ निकट मानिएका आठ क्लब र कर्मा छिरिङ शेर्पा निकट मानिएका १ क्लबले मताधिकार पाएका छन् ।
'सी' डिभिजनबाट पुल्चोक स्पोर्ट्स क्लब, समाज कल्याण क्लब, खालीबारी युथ, मनोहरा युथ क्लब, प्लानिङ ब्वाइज युनाइटेड, स्वयम्भु, आरसी ३२ फुटबल एकेडेमी, महावीर स्टडिज एन्ड एसोसिएसन र वीरगंज युथ एकेडेमीले मताधिकार पाएका छन् ।
मताधिकार पाउने क्लबमा समाज कल्याण शेर्पा निकट र अन्य क्लब नेम्बाङ निकट मानिएको छ । समाज कल्याण क्लबले गोलापर्थाबाट मताधिकार पाएको हो । झापा फुटबल क्लबसँग समान ७-७ भोटको बराबरी भएपछि गोलापर्था समाज भाग्यामानी बन्यो ।
झापासँगै ओसिस क्लब, सानेपा फुटबल क्लब, रानीबन र साँगाले मताधिकार पाएनन् ।