काठमाडौं । शेन वार्नको स्मृतिमा जारी नेपाल प्रो-क्लब च्याम्पियनसिपमा उत्तर प्रदेश तेस्रो भएको छ ।
उत्तर प्रदेशले नेपाल आर्मी क्लबलाई पराजित गर्दै प्रतियोगितामा तेस्रो भएको हो ।
शुक्रबार भएको तेस्रो स्थानको भिडन्त खेलमा उत्तर प्रदेशले आर्मीलाई ३० रनले पराजित गर्यो ।
सिदार्थनगर रंगशालामा १ सय ४० रनको लक्ष्य पछ्याएको आर्मी १८ ओभरमा १ सय ९ रन बनाउँदा अलआउट भयो । राम्रो सुरुवात गरेको आर्मीका कुशल मल्लले आक्रामक ब्याटिङ गर्दै ३५ रन, सन्तोष कार्कीले १० र भीम शार्कीले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
उत्तर प्रदेशको जितमा विपिन चन्द्र र तेजस सिंहले ३-३ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको उत्तर प्रदेशले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३९ रन बनायो । उसका सन्दीप मित्तलले ४३ र सन्नी सिंहले २६ रन बनाए ।
आर्मीका सोमपाल कामिले ३ विकेट हात पारे ।