काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आसन्न निर्वाचनका लागि 'बी' र 'सी' डिभिजनका क्लबको प्रतिनिधि छनोट आज शुक्रबार हुँदैछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले 'बी' र 'सी' डिभिजनको प्रतिनिधि छनोट आज हुने जनाएको छ ।
एन्फाले 'सी' डिभिजनको प्रतिनिधि छनोट दिउँसो १ बजे सुरु हुने जनाएको छ ।
यस्तै 'बी' को छनोट अपरान्ह ४:३० बजे सुरु हुने जनाएको छ ।
यस अघि एन्फा विधान र निर्देशिका विपरित कार्यसमितिमा रहेका सदस्य क्लबका प्रतिनिधि बनेर आएपछि गत बिहीबार तय भएको निर्वाचन प्रक्रिया स्थगित भएको थियो ।
एन्फाको निर्वाचन निर्देशिकामा कार्यकारी समिति, महासचिव, प्रमुख कार्यकारी अधिकृत, कोषाध्यक्ष, सहायक महासचिव, सहायक सिईयो, सह कोषाध्यक्ष, मानार्थ अध्यक्ष, उपाध्यक्ष तथा सदस्यहरुले साधारण सभामा भाग लिने पाउने तर उनीहरुलाई मतदानको अधिकार नहुने उल्लेख छ ।
यस्तै, आफ्नो कार्यकालमा कार्यकारी समितिमा सदस्यहरुले आफ्नो संघको प्रतिनिधिका रुपमा नियुक्त हुन नपाउने र कुनै सदस्य संस्थाबाट मताधिकार प्रतिनिधि भएको खण्डमा पूर्व पदबाट राजिनामा गर्नुपर्ने उल्लेख छ ।
तर, कार्यसमिति सदस्यद्धय दावा लामा र रुपेश अधिकारी क्रमश प्लानिङ ब्वाईज र साग्रिला स्पोर्टस एकेडेमी तथा कोषाध्यक्ष रविन्द्र जोशी पुल्चोक स्पोर्टस क्लबबाट प्रतिनिधिको रुपमा आएपछि निर्वाचन प्रक्रिया प्रभावित बनेको हो ।
एन्फा विधान र निर्वाचन निर्देशिका विपरित प्रतिनिधि बनेर आएका प्रतिनिधिको प्रतिनिधित्व खारेज गर्नुपर्ने माग सहित निर्वाचनको पुनरावेदन समिति निवेदन परेपछि प्रतिनिधि छनोट प्रक्रिया स्थगित भएको थियो ।
एन्फाको आसन्न निर्वाचनका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङ्गले उम्मेदवारी दिने तयारी गरेका छन् ।
नेतृत्वका लागि दुवै पक्ष अहिलेदेखिनै आफ्ना पक्षका प्रतिनिधि ल्याउन कसरत गरिरहेका छन् । निर्वाचन असार ६ गतेलाई तोकिएको छ ।
'बी' र 'सी' डिभिजनमा समान १४ क्लब छन् । तर, 'बी' बाट ११ र 'सी' बाट ९ क्लबले मताधिकार पाउने छन् ।