काठमाडौं । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा नेपाल यथावत रहेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले मंगलबार सार्वजनिक गरेको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको नयाँ वरीयतामा नेपाल यथावत रहन सफल भएको हो ।
नेपाल वरीयतामा १८ औं स्थानमा रहेको छ । यसअघि समेत नेपाल १८ औं स्थानमा रहेको थियो ।
नेपालले मार्च महिनामा ६ एकदिवसीय खेल खेलेको थियो । जसमा नेपालले २ मा जित निकाल्दा ४ खेलमा पराजित भएको थियो ।
नेपालले गत महिना दुबईमा आईसीसी विश्वकप लिग टु अन्तर्गतको सिरिजमा पपुवा न्युगिनी (पीएनजी) लाई २ खेलमा पराजित गर्दा घरेलु टोली यूएईसँग २ खेलमा पराजित भएको थियो ।
लगत्तै नेपालले आफ्नो घरेलु मैदानमा पीएनजीसँग २ खेलको मैत्रीपूर्ण सिरिजमा क्लिन स्विप भएको थियो ।
नयाँ एकदिवसीय वरीयतामा न्युजिल्यान्ड शीर्षस्थानमा रहेको छ ।