काठमाडौं । घरेलु टोली दक्षिण अफ्रिकाले बंगलादेशविरुद्धको टेष्ट सिरिजमा क्लिन स्विप गरेको छ । दुई खेलको टेष्ट सिरिजमा दक्षिण अफ्रिकाले २-० ले आफ्नो पक्षमा पार्दै सिरिज कब्जा गरेको हो ।
दोस्रो टेष्टमा ४ सय १३ रनको ठुलो लक्ष्य पछ्याएको बंगलादेश ८० रनमा अलआउट हुँदा दक्षिण अफ्रीकाले ३ सय ३२ रनको फराकिलो जित निकाल्यो ।
दक्षिण अफ्रिकाको शानदार जितमा केशभ महाराजले ७ विकेट लिए । यस्तै सिमोन हार्मेरले ३ विकेट लिए ।
लक्ष्य पछ्याउने क्रममा बंगलादेशका लिट्न दसले सर्वाधिक २७ रन बनाए । मेहेदी हसनले २० रन र तामिम इकबालले १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले आफ्नो पहिलो इनिङमा ४ सय ५३ रन जोडेको थियो । उसको ठुलो स्कोरमा ४ खेलाडीले अर्धशतक बनाएका थिए ।
बंगलादेशले पहिलो इनिङमा २ सय १७ रन बनाउँदा अलआउट भयो । उसका मुस्फिकर रहिमले अर्धशतक बनाए ।
पहिलो इनिङमा दक्षिण अफ्रिकाले २ सय ३६ को अग्रता पाउँदा उसले दोस्रो इनिङमा ६ विकेट गुमाएर १ सय ७६ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गरेको थियो ।
खेलका प्लेअर अफ द म्याच केशभ महाराज घोषित भए । उनले पहिलो इनिङमा दक्षिण अफ्रीकाको सर्वाधिक ८४ रन बनाएका थिए । यस्तै म्याचमा उनले दुई इनिङमा ९ विकेट लिन सफल भएका थिए ।
प्लेअर अफ द सिरिज समेत केशभ महाराजले हात पारेका छन् । उनले सिरिज भर १ सय ८ रन बनाएर १६ विकट लिन सफल रहेका थिए ।