काठमाडौं । शेन वार्नको स्मृतिमा जारी नेपाल प्रो-क्लब च्याम्पियनसिपमा पुश स्पोर्ट्स दिल्लीविरुद्ध मलेसिया-११ ले एकै ओभरमा ६ विकेट लिएको छ ।
मलेसियाका ओपनर ब्याटर भिरन्दिप सिंहको ओभरमा टिमले ६ बलमा ६ विकेट निकालेको हो ।
भिरन्दिपले दिल्लीविरुद्ध अन्तिम ओभरमा ५ विकेट लिए । एक खेलाडी रन आउट भएका थिए ।
खेलको पहिलो इनिङमा पुशले १९ ओभरमा ३ विकेट गुमाएर १ सय ३० रन बनाएको स्थितिमा अन्तिम ओभरमा भिरन्दिपको व्यक्तिगत दोस्रो ओभरमा दिल्लीले ६ विकेट गुमाएपछि १ सय ३० रन बनाउँदा ९ विकेट गुमायो ।
इनिङको अन्तिम ओभरको पहिलो बल वाइड गरेका भिरन्दिपले लगत्तैको म्रिगंक पाठकलाई आउट गर्दा ओभरको दोस्रो बलमा इशान पाण्डे रन आउट भए ।
त्यसपछि आएका सबै ब्याटरलाई भिरन्दिपले आउट गरे ।
जारी खेलमा मलेसिया-११ ले १ सय ३१ रनको लक्ष्य पछ्याई रहेको छ ।