काठमाडौं । शेन वार्नको स्मृतिमा जारी नेपाल प्रो-क्लब च्याम्पियनसिपमा विभागीय टोली एपीएफले लगातार दोस्रो हार ब्यहोरेको छ ।
सोमबार भएको पहिलो खेलमा एपीएफ भारतको उत्तर प्रदेश क्लब-११ सँग ७ विकेटले पराजित भएको हो ।
सिदार्थनगर क्रिकेट रंगशालामा ७७ रनको सामान्य लक्ष्य पछ्याएको उत्तर प्रदेशले १३ ओभर २ बलमा मात्र ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । उसका राज यादबले अविजित २९ र बिबेक सिंहले २२ रन बनाए ।
एपीएफका अमर रौटेला र नन्दन यादबले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले १७ ओभर १ बलमा ७६ रन बनाउँदा अलआउट भयो । उसका अमर रौटेलाले २१, सुमित महर्जनले १६ र पुरन बिकेले १२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
एपीएफलाई सस्तैमा समेट्न उत्तर प्रदेशका प्रिन्स शाहले ४ तथा विपिन चन्द्रले २ विकेट हात पारे ।
दुई खेलमा दुई पराजय ब्यहोरेको एपीएफ समूह चरणको एक खेल बाँकी रहँदा प्रतियोगिताबाट बाहिरिएको छ । उत्तर प्रदेश भने दुई खेलमा दुई जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको छ ।