काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको महिला टिमको संख्या बढाउने भएको छ ।
गत संस्करणको विश्वकप छनोट देखि आलोचना खेप्दै आएको आईसीसीले महिला क्रिकेटमा एकदिवसीय मान्यतामा वृद्धि गर्ने भएको हो ।
गत वर्ष महिला विश्वकप छनोटमा कोरोनाको ओमिक्रोन भेरियन्टको करण प्रतियोगिताबीचैमा रद्द भएको थियो । बीचैमा रद्द भएको छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको थाइल्याण्ड टिमलाई एकदिवसीय मान्यता नभएको भन्दै विश्वकपबाट बाहिर राखिएको थियो ।
छनोट प्रतियोगितामा एसोसियट राष्ट्र थाइल्याण्डले टेष्ट राष्ट्र बंगलादेश र जिम्बाबेलाई पराजित गर्दै उत्कृष्ट प्रदर्शन गरेको थियो । तर कोरोनाको करण प्रतियोगिताले पूर्णता पाउन नक्सदा एकदिवसीय मान्यता पाएको राष्ट्रको आधारमा थाइल्याण्डलाई पछि पार्दै बंगलादेश विश्वकपमा छनोट भएको थियो । उक्त घटनापछि आईसीसीको चर्को आलोचना हुँदै आएको थियो ।
त्यस घटनापछि थाइल्याण्ड क्रिकेटले आईसीसीलाई एसोसियट राष्ट्रका महिला टिमले मात्र भएपनि एकदिवसीय मान्यता बढाउनु पर्ने माग गर्दै आएको थियो ।
आईतबार दुबईमा बसेको आईसीसीको बोर्ड बैठकले एकदिवसीय मान्यतामा महिला टिमको संख्या बढाउने निर्णय गरेको छ ।
गत वर्ष आईसीसीले टेष्ट मान्यता पाएका राष्ट्रको महिला टिमलाई स्वत: टेष्ट र एकदिवसीयको मान्यता दिएको थियो । अफगानीस्तानको महिला टोली चलायमान नरहे पनि पुरुष टिम आईसीसीको पूर्ण सदस्य (फुल मेम्बर) भएको करण एकदिवसीय र टेष्ट राष्ट्रको मान्यता पाएको थियो ।
तर टी-ट्वान्टी विश्वकप खेलेको थाइल्यान्ड जसले टेष्ट राष्ट्रलाई समेत हराउँदै आएको छ उसको पुरुष टिम कमजोर भएको भन्दै महिला टिम पछि पर्दै आएको थियो ।