काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आईतबार सन् २०२४ मा हुने टी-ट्वान्टी विश्वकपको छनोट आधार तय गर्यो ।
सन् २०२४ देखि आईसीसीले टी-ट्वान्टी विश्वकपमा ४ टोली थप गर्दै २० राष्ट्रको सहभागिता सुनिस्चित गरेको छ । आईसीसीले पहिलो पटक विश्वकपमा सहभागिता जनाउने राष्ट्रको संख्या २० पुर्याएको हो ।
विश्वकप संस्करणमा आईसीसीले आयोजक राष्ट्रलाई प्राथमिकता दिएको छ । सन् २०२४ का आयोजक वेष्ट इन्डिज र अमेरिका स्वत: आयोजकको रुपमा विश्वकप छनोट भएका छन् ।
सन् २०२४ को टी-ट्वान्टी विश्वकपमा १२ राष्ट्रले समेत स्वत: छनोट हुने मौका पाएका छन् । बाँकी ८ राष्ट्रले छनोट प्रक्रियाबाट स्थान बनाउने छन् ।
सन् २०२२ मा अष्ट्रेलियामा हुने टी-ट्वान्टी विश्वकपमा शीर्ष ८ स्थानमा रहने टोलीले सन् २०२४ को विश्वकपमा स्थान पक्का गर्ने छन् ।
त्यस बाहेकका राष्ट्र जो नोभेम्बर १४ को टी-ट्वान्टी वरीयतामा अगाडी हुने छ त्यो दुई राष्ट्र सन् २०२४ को विश्वकपको लागि छनोट हुनेछ । यदि आयोजक रहेको वेष्ट इन्डिज अष्ट्रेलियामा हुने विश्वकपमा शीर्ष ८ भित्र पारे वरीयताको आधारमा थप एक अर्को राष्ट्रले मौका पाउने छन् । सन् २०२२ को विश्वकपमा आगामी आयोजक अमेरोका सहभागी हुने छैन ।
यसरी १२ राष्ट्र सन् २०२४ को टी-ट्वान्टी विश्वकपको लागि छनोट प्रतियोगिता नखेली आफ्नो स्थान सुरक्षित गर्न सक्ने छन् ।
बाँकी ८ राष्ट्रले आफ्नो क्षेत्रका राष्ट्रसँग क्षेत्रिय छनोट खेलेर विश्वकपको लागि स्थान बनाउनु पर्ने छ । अफ्रिका, एसिया र युरोप क्षेत्रबाट दुई-दुई राष्ट्रले विश्वकपमा स्थान पाउने छन् भने अमेरिका र पूर्वी एसिया प्यासिफिकबाटा एक-एक राष्ट्रले स्थान बनाउने छन् ।
कसरी नेपाल छनोट हुन सक्छ त विश्वकपमा ?
सन् २०२४ को विश्वकपको लागि नेपाललाई दुईवटा बाटो रहेको छ । पहिलो, सन् २०२२ को विश्वकपमा वेष्ट इन्डिजले शीर्ष ८ मा स्थान बनाएको खण्डमा नेपालले नोभेम्बरसम्म आईसीसीको टी-ट्वान्टी वरियतामा एक सुधार गर्दै कम्तिमा ११ औं स्थान पाउन सके नेपाल विश्वकपको लागि छनोट हुनेछ । नेपालले नोभेम्बरसम्म दुई स्थान सुधार गर्न सके सहजै नेपाल विश्वकपको लागि छनोट हुनेछ जुन अलि कठिन देखिन्छ ।
हाल नेपाल आईसीसीको टी-ट्वान्टी वरियतामा १२ औं स्थानमा रहेको छ ।
दोस्रो, नेपालले एसिया क्षेत्रिय छनोट प्रतियोगितामा फाइनल पुगे सन् २०२४ को विश्वकपको लागि स्थान बनाउने छ । यो बाटो नेपालको लागि केहि खतरा हुन सक्छ किनभने नेपालले एसियामा हङकङ, ओमान, मलेसिया, सिंगापुर जस्ता बलियो टोलीसँग क्षेत्रिय छनोट खेल्नु पर्ने हुन्छ ।
दुई महिनाअघि ओमानमा भएको ग्लोबल छनोट प्रतियोगितामा नेपाल एसिया क्षेत्रको यूएईसँग सेमिफाइनलमा पराजित हुँदा यसै वर्ष अष्ट्रेलियामा हुने विश्वकपमा छनोट हुन असफल भएको थियो ।