काठमाडौं । शेन वार्नको स्मृतिमा आयोजना भएको नेपाल प्रो-क्लब च्याम्पियनसिपमा नेपाल आर्मी क्लबले लगातारदोस्रो जित निकालेको छ ।
आर्मीले आईतबार ट्यालेन्ट हन्ट क्रिकेट एकेडेमीलाई ८ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित निकाल्यो ।
सिदार्थनगरमा ९७ रनको सामान्य लक्ष्य पछ्याएको आर्मीले १४ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । उसका रोहित पौडेलले अविजित ४१ र हरि चौहानले २५ रन बनाए ।
ट्यालेन्ट हन्टका एमडी उमर र सन्दीप कुमारले समान १/१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ट्यालेन्ट हन्टले २० ओभरमा ८ विकेट गुमाएर मात्र ९६ रन बनायो । उसका अबिदुर कैफले २३, उत्तम मगरले १६ र कप्तान मोहमद मोशार्रफले अविजित १५ रन बनाए ।
ट्यालेन्ट हन्टको कम स्कोरमा आर्मीका कुशल मल्लले ३ तथा शुसन भारी र सोमपाल कामीले सामान २/२ विकेट लिए ।
दुई खेलमा दुई जित निकालेको आर्मी ४ अंकका साथ तालिकामा शीर्षस्थानमा रहँदै सेमिफाइनल सम्भावना बलियो बनाएको छ । ट्यालेन्ट हन्टको यो लगातार दोस्रो हार हो । दुई खेलमा दुई पराजय भोगेको ट्यालेन्ट हन्टले अंक जोड्न सकेको छैन ।