काठमाडौं । शेन वार्नको स्मृतिमा जारी नेपाल प्रो-क्लब च्याम्पियनसिपमा रुपन्देही-११ ले लगातार दोस्रो जित निकालेको छ ।
आईतबार पुलिस क्लबलाई २९ रनले पराजित गर्दै रुपन्देही-११ को टिमले लगातार दोस्रो जित निकालेको हो ।
भैरहवाको सिदार्थनगर रंगशालामा भएको खेलमा १ सय १८ रनको लक्ष्य पछ्याएको पुलिस क्लब १८ ओभर ५ बलमा ८८ रन बनाउँदा अलआउट भयो । उसका शंकर रानाले २८, रोशन बुदलले २५ र गुल्सन झाले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।
रुपन्देही-११ को जितमा बसिर अहमदले ३ तथा कृष्ण कार्की, अनिल खरेल र बिशाल बिक्रम केसीले समान २ विकेट हात पारे ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको रुपन्देही-११ ले २० ओभरमा ८ विकेट गुमाएर १ सय १७ रन बनाएको थियो । उसका विशाल बिक्रम केसीले २९, बिक्रम भुसालले अविजित १९, बसिर अहमदले १७ रन बनाए । यस्तै देव खनाल र तुल थापाले समान १३ रनको योगदान गरे ।
पुलिसका पवन सरार्फले ४ विकेट हात पारे ।
दुई खेलमा दुई जित निकालेको रुपन्देही-११ सेमिफाइनल सम्भावना बलियो बनाएको छ । दुई खेलमा पराजित भएको पुलिस क्लब सेमिफाइनल पुग्न झिनो आसा बाँकी छ ।