काठमाडौं । त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई जितका लागि १ सय ६९ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनायो ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले अविजित रहदै ५४ रनको अर्धशतकीय इनिङ खेले । उनले ३८ बलमा अविजित ५ चौका प्रहार गर्दा टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो खेलाडी बने ।
आक्रामक ब्याटिङ गरेका करण केसीले अविजित रहदै ३३ रन बनाए । उनले १२ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै नेपाललाई बलियो स्कोर खडा गर्न मद्दत गरे ।
दिपेन्द्र र करणले अन्तिम २४ बलमा ५४ रन जोड्दै नेपाललाई राम्रो स्कोरमा पुर्याएका हुन् ।
यस्तै ओपनर कुशल भुर्तेल र आसिफ शेखले २५ र २९ रनको योगदान गरे । कुशलले २२ बलमा ५ चौका प्रहार गर्दा आसिफले २९ बलमा १ छक्का प्रहार गरे ।
नेपालले ११ ओभरमा २ विकेट गुमाएर ८२ रन बनाएको थियो । तर १२ औं ओभरमा विना कुनै रन जोड्दा नेपालले ३ विकेट गुमाएपछि पीएनजीले पकड जमाएको थियो । सेमो कमेअको ओभरमा नेपालले एक रन नजोडी ३ विकेट गुमाएको हो ।
आदील आलमले १३ बलमा १ चौका र १ छक्का प्रहार गर्दा १५ रन बनाएर आउट भए ।
पीएनजीका कमेअले आफ्नो ४ ओभर बलिङ गर्दै १ मेडेन राख्दै २८ रन खर्चेर ३ विकेट लिए । त्यस्तै चाड सोपर, काबुअ मोरेय र रिले हेकुरेले समान १/१ विकेट लिए ।
आज दुबै टोली उपाधि उचाल्ने योजनासहित मैदान उत्रनेछन् । नेपाल जारी सिरिजमा अपराजित रहदै फाइनल पुगेको हो । नेपालले ४ खेलमा ४ जित निकाल्दै शीर्ष स्थानमा रहेर फाइनल खेल्न लागेको हो ।
नेपाल आज पीएनजीलाई हराएर एकदिवसीय सिरिजको बदला लिन चाहन्छ । पीएनजीले यस अघि नेपालविरुद्धको दुई खेलको एकदिवसीय सिरिज २-० ले क्लिन स्विप गरेको थियो ।
पीएनजीले उपविजेताको रुपमा फाइनल खेल्न लागेको हो । पीएनजीले ४ खेलमा ३ हार र एक जित निकालेको थियो । ४ खेलमा १ जित जित र ३ हार व्यहोरेको मलेसियालाई नेट रनरेटमा पछि पार्दै पीएनजी फाइनल पुगेको हो ।
पीएनजी नेपाललाई पन्छाउँदै टी-ट्वान्टी सिरिजको पनि उपाधि उचाल्ने योजनामा छ ।