काठमाडौं । दिपेन्द्र सिंह ऐरीले टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन पूरा गरेका छन् ।
त्रिकोणात्मक टी-ट्वान्टी सिरिजको फाइनल अन्तर्गत त्रिवि क्रिकेट मैदानमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध २१ रन जोड्दै दिपेन्द्रले टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन पूरा गरेका हुन् ।
दिपेन्द्रले टी-ट्वान्टी अन्तर्राष्ट्रियको ३४ इनिङ्स खेल्दै १ हजार रन पूरा गरेका हुन् ।
१ हजार रन पूरा गरेसँगै उनले वेष्ट इण्डिजका युनिभर्सल बोसको उपनामले परिचित क्रिस गेलको कीर्तिमानसँग समेत बराबरी गरेका छन् ।
गेलले समेत टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन पूरा गर्न ३४ इनिङ खेलेका थिए ।
टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक कम इनिङमा एक हजार रन बनाउने कीर्तिमानमा दिपेन्द्रले क्रिस गेल, न्युजिल्यान्डका केन विलियम्सन र श्रीलंकाका कुशल परेरासँग बराबरी गर्दै विश्वको १० औं स्थान लिन सफल भएका छन् ।
दिपेन्द्रले ३८ खेल खेल्दा ३४ इनिङ्समा ब्याटिङ गर्दा १ शतक र ५ अर्धशतक बनाएका छन् । दिपेन्द्र टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा एकै इनिङमा सर्वाधिक रन बनाउने नेपाली खेलाडी समेत हुन् । उनले मलेसियाविरुद्ध १ सय २६ रनको अविजित शतकीय इनिङ खेल्दै सर्वाधिक स्कोर बनाएका थिए ।
टी-ट्वान्टी अन्तर्राष्ट्रियमा सर्वाधिक कम इनिङमा १ हजार रन बनाउने कीर्तिमानी इंग्ल्यान्डका डेबिड मलानको नाममा रहेको छ । उनले मात्र २४ इनिङमा १ हजार रन पूरा गरेका थिए ।
टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन पुरा गर्ने दिपेन्द्र पहिलो नेपाली खेलाडी हुन् । दिपेन्द्र टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने नेपाली खेलाडी समेत हुन् ।