काठमाडौं । त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधिका लागि आज सोमबार नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीच प्रतिस्पर्धा हुँदैछ ।
आयोजक नेपालले त्रिवि क्रिकेट मैदानमा पीएनजीको सामना गर्नेछ । नेपाल र पीएनजीबीचको फाइनल खेल अपरान्ह १२:३० बजे सुरु हुनेछ । आज दुबै टोली उपाधि उचाल्ने योजनासहित मैदान उत्रनेछन् ।
नेपाल जारी सिरिजमा अपराजित रहदै फाइनल पुगेको हो । नेपालले ४ खेलमा ४ जित निकाल्दै शीर्ष स्थानमा रहेर फाइनल खेल्न लागेको हो ।
नेपाल आज पीएनजीलाई हराएर एकदिवसीय सिरिजको बदला लिन चाहन्छ । पीएनजीले यस अघि नेपालविरुद्धको दुई खेलको एकदिवसीय सिरिज २-० ले क्लिन स्विप गरेको थियो ।
'अहिलेसम्म हामीले परिक्षण गर्यौं अब फाइनलमा राम्रो खेल्ने छौं,' नेपालका कप्तान सन्दीप लामिछानेले फाइनल अघि भन्छन्, 'एक खेलाडीको रुपमा मेरो लागि यो फाइनल एकदम महत्व राख्छ, म कप्तान भएपन नभएपनि म यो टिमको सदस्य हो । अरुलाई जति खुसी हुन्छ त्यतिनै खुसी मेरो लागि पनि हुन्छ ।'
पीएनजीले उपविजेताको रुपमा फाइनल खेल्न लागेको हो । पीएनजीले ४ खेलमा ३ हार र एक जित निकालेको थियो । ४ खेलमा १ जित जित र ३ हार व्यहोरेको मलेसियालाई नेट रनरेटमा पछि पार्दै पीएनजी फाइनल पुगेको हो ।
पीएनजी नेपाललाई पन्छाउँदै टी-ट्वान्टी सिरिजको पनि उपाधि उचाल्ने योजनामा छ ।
' ठुलो खेल हुनेछ, हामी खेलमा फोकस छौं र हामीलाई के गर्नु छ भन्ने थाहा छ,' पीएनजीका कप्तान असद भालाले फाइनल अघि भनेका थिए।