काठमाडौं । टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पहिलो पटक लगातार पाँच जित हात पार्दा सन्दीप लामिछानले कप्तानको निर्वाह गरे ।
गत महिना ओमानमा भएको टी-ट्वान्टी विश्वकप छनोटको अन्तिम खेलमा जित निकालेको नेपालले घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-ट्वान्टी सिरिजमा चार खेल जित्दै पहिलो पटक लगातार पाँच खेल जित्न सफल भएको हो ।
सिरिजमा नेपाल अपराजित रहँदै फाइनल पुग्यो । अन्य दुई राष्ट्र, मलेसिया र पपुवा न्युगिनी (पीएनजी) भने तीन खेलमा पराजित हुँदा एक खेल जित्दै नेट रनरेटमा अघि रहदै पीएनजी फाइनल पुगेको हो ।
सिरिजको फाइनल सोमबार हुँदैछ । अपराजित नेपाल घरेलु मैदानमा उपाधि उचाल्न आतुर छ भने लिग खेलमा संघर्ष गरेको पीएनजी समेत नेपाललाई पन्छाउँदै उपाधि उचाल्ने योजनामा छ ।
नेपालविरुद्धको एकदिवसीय सिरिज कब्जा गरेको पीएनजीले टी-ट्वान्टी सिरिजमा समेत फाइनलको लागि योजना बनाएको छ ।
'भोलि ठुलो खेल हुनेछ, हामी भोलिको खेलमा फोकस छौं र हामीलाई के गर्नु छ भन्ने थाहा छ ।' पीएनजीका कप्तान असद भालाले खेलअघि ट्रफी सार्वजानिक कार्यक्रममा भने ।
पीएनजी गत संस्करणको आईसीसी टी-ट्वान्टी विश्वकपमा सहभागिता जनाएर आएको राष्ट्र हो । पीएनजीले विश्वकपमा जित भने निकाल्न सकेन ।
'हामीले धेरै टी-ट्वान्टी खेल खेलका छैनौं, अन्तिम पटक हामीले विश्वकपमा खेलेका हौँ । त्यसपछी हामी लिग टुको लागि फोकस भयौं ।' भालाले सिरिजमा खराब नतिजाको कारण बताउँदै भने, 'यस सिरिजको लागि आमन्त्रण गरेकोमा क्यानलाई धन्यवाद । जुनमा हुने विश्वकप छनोटको लागी यो प्रतियोगिताले हामीलाई मद्दत गर्नेछ ।'
पीएनजीले आगामी संस्करणको आईसीसी टी-ट्वान्टी विश्वकप छनोट खेल्न बाँकी छ । त्यसको लागि यस सिरिज सहयोगी हुने भालाले बताएका हुन् ।
उत्कृष्ट प्रदर्शनका बाबजुद विश्वकप छनोटबाट निराश भएको नेपालले यस सिरिजलाई प्रयोग तथा अभ्यासको रुपमा लिइएको छ । नेपालले युवा खेलाडीलाई मौका दिदै सिरिजलाई प्रयोग र अभ्यासको रुपमा लिएको हो । तर फाइनललाई भने नेपालले गम्भीर रुपमा लिएको छ ।
'अहिलेसम्म हामीले परिक्षण गर्यौं अब फाइनलमा राम्रो खेल्ने छौं,' नेपालका कप्तान सन्दीप लामिछानेले फाइनलअघि भने, 'एक खेलाडीको रुपमा मेरो लागि यो फाइनल एकदम महत्व राख्छ, म कप्तान भएपन नभएपनि म यो टिमको सदस्य हो । अरुलाई जति खुसी हुन्छ त्यतिनै खुसी मेरो लागि पनि हुन्छ ।'
राष्ट्रिय टिमको कप्तानी सन्दीपले सम्हालेपछि नेपाल कुनै पनि उपाधि नजिक पुगेको यो पहिलो पटक हो । कप्तानको रुपमा यो फाइनल कत्तिको महत्व राख्छ भन्ने प्रश्नमा सन्दीपले आफू कप्तान भन्दा पहिले टिमको सदस्य रहेको र अन्य खेलाडीलाई जस्तै खुसी आफू हुने बताएका हुन् ।
सन्दीपले नेपाली समर्थक नेपाल क्रिकेटको लागि बरदान रहेको र समर्थकनै नेपालको शक्ति भएको समेत बताए । महत्वपूर्ण खेलमा समर्थकमाझ खेल्नु कुनै प्रेसर नहुने बताए ।
'मलाई प्रेसर सिचुएसनमा र समर्थकको माझ खेल्नु मन पर्छ । हाम्रो लागि हाम्रो समर्थक एक शक्ति हो,' सन्दीपले भने, 'हाम्रो लागि यो एक खेल मात्र हो, प्रेसरको कुरा छैन, हामी हाम्रो योजनामा रहने छौं र हामीलाई जितको लागि खेल्न मन पर्छ । हामी जहिले तल परेको बेला समर्थकहरु आएर हौषला बढाउनु हुन्छ । यो नेपाल क्रिकेटको लागि बरदान हो की जो नेपाल क्रिकेटको लागि हरेक समय उपस्थित हुनुहुन्छ ।'
पीएनजीका प्रशिक्षक तथा अष्ट्रेलियाका पूर्व खेलाडी कार्ल सान्ड्रीले नेपाली टिमको प्रशंसा गरे ।
'नेपाल एकदम राम्रो टिम हो । हामीले पछिल्लो खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको देखेका छौं । नेपाल जस्तो प्रतिद्वन्द्वी पाउनु भनेको हामीलाई चुनौती हो र त्यसको लागि हामीले आफ्नो बेष्ट दिनु पर्ने छ ।' पीएनजीका प्रशिक्षक कार्लले नेपालको प्रशंसा गर्दै भने, ' राम्रो बलर, ब्याटर र अलराउण्डरले भरिएको नेपालसँग सुरु देखि अन्तिमसम्म राम्रो खेलाडी भएको टिमसँग खेल्न हामी तयार हुनु पर्छ । यस्तो राम्रो प्रतिद्वन्द्वीसँग खेल्न पाउनु हाम्रो लागि एक ठुलो चुनौती हो र यसको लागि हामी तयार छौं ।'