काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अधिवक्ता श्रीराम दवाडीको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ ।
एन्फाको मंगलबार बसेको २० औं विशेष साधारण सभाले दवाडीको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको हो ।
समितिको सह-संयोजक अधिवक्ता रामचन्द्र गौतम, दामोदर भट्टराई सदस्य, अधिवक्ता सरस्वती श्रेष्ठ र अधिवक्ता प्रिती कार्की वैकल्पिक सदस्य रहेका छन् ।
साधारण सभाले बिष्णु लुइँटेलको संयोजकत्वमा निर्वाचन पुनरावेदन समिति गठन गरेको छ । यस समितिमा सुधा रिजाल सह संयोजक, केशरमणि अर्याल सदस्य, यज्ञ बहादुर राना र हरि प्रसाद इग्नाम वैकल्पिक सदस्य रहेका छन् ।
यस्तै निर्वाचनमा सहभागी उम्मेदवारको मनोनयन शुल्क समेत तोकिएको छ ।
अध्यक्षको उम्मेदवारका लागि १५ हजार, उपाध्यक्षको लागि १० हजार र सदस्यका लागि ५ हजार शुल्क तोकिएको छ ।
साधारण सभाले खेलाडी संघका अध्यक्ष राजेश मानन्धर, महिला संघका अध्यक्ष वृन्दा देवान र संखुवासभा जिल्ला फुटबल संघका प्रतिनिधि गौरिमान राईलाई निरिक्षकमा नियुक्त गरेको छ ।
त्यस्तै बैठकको निर्णय पुस्तिका प्रमाणित गर्न सदस्यमा सानेपा क्लबका अध्यक्ष ध्रुब बिक्रम पाण्डे, नुवाकोट जिल्ला फुटबल संघका अध्यक्ष दिपक चित्रकार र रेफ्री संघका अध्यक्ष बुद्धि बहादुर गुरुङलाई नियुक्त गरेको छ ।
एन्फाको निर्वाचन आगामी वर्षको जेठ १५ गते हुनेछ।