काठमाडौं । सर्वोच्च अदालतले बर्खास्तीमा परेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश सिलवालको कार्यसम्पादनको फाइल मगाउने आदेश दिएको छ ।
राखेपको सदस्य सचिवको नयाँ नियुक्त र बर्खास्ती सम्बन्धि परेको रिटको सुनुवाई गर्दै न्यायाधिश हरिकृष्ण कार्की र टंकबहादुर मोक्तानको इजलाशले सरकारद्वारा मुल्यांकन गरिएको सिलवालको कार्यसम्पादनको फाइल मगाउने आदेश दिएको हो ।
यस्तै अदालतले थप बहका लागि चैत २२ गतेका लागि डाकेको छ । मंगलबार सिलवाल पक्षका वकिलहरुले बहस गरेका थिए ।
सरकारले कार्यसम्पादन गर्न नसकेको आरोपसहित राखेपका तत्कालिन सदस्य सचिव सिलवाललाई पदमुक्त गरेको थियो ।
सरकारले सिलवाललाई गत कात्तिक १ गते बर्खास्त गरेको थियो ।
यस्तै गत मंसिर १३ गते टंकलाल घिसिङलाई नयाँ सदस्य सचिव नियुक्त गरेको थियो ।
तर, सिलवालले मन्त्री परिषद्को निर्णयविरुद्ध अदालतमा मुद्दा दर्ता गरेका थिए । त्यसपछि सर्वोच्चले सिलवालले दायर गरेको रिटमा पछिल्लो नियुक्ति कार्यान्वयन नगर्नु भन्दै अल्पकालिन अन्तरिम आदेश दिएको थियो ।
युवा तथा खेलकुद मन्त्रालयले सदस्य सचिवको मुद्दा किनारा नलागेसम्मका लागि कुलबहादुर थापालाई राखेपको कार्यकारी अधिकार दिईसकेको छ ।