काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजसहितको नेपाली टोलीले नेपाली खेल क्षेत्रको विकासकाबारे दुबईमा विभिन्न संस्थाका प्रतिनिधिसँग छलफल गरेका छन् ।
एन्टी डोपिङ सम्बन्धी १७ औं एशिया÷ओशिनिया क्षेत्र अन्तरसरकारी मन्त्रीस्तरीय बैठकमा सहभागी हुन दुबईमा रहेका नेपाली टोलीले विभिन्न संस्थाका प्रतिनिधिसँग भेटवार्ता गरेका हुन् ।
नेपाली टोलीले संयुक्त अरब इमिरेट्सको खेलकुद प्राधिकरणका अध्यक्ष डा. अहमद बेलहौल अल फलासी, विश्व एन्टी डोपिङ एजेन्सी (वाडा) का अध्यक्ष विटोल्ड बांका र एशिया ओलम्पिक काउन्सिल (ओसीए) का महानिर्देशक हुसेन ए.एच.जेड अल मुसलामसँग भेटवार्ता गरेका हुन् ।
भेटका क्रममा मन्त्री गहतराजले नेपालले एन्टी डोपिङका क्षेत्रमा गरेको कार्यहरुका बारेमा जानकारी गराएका थिए ।
यस्तै आगामी दिनमा डोपिङको क्षेत्रमा नेपालको क्षमता विकासमा सहयोग गर्न मन्त्री गहतराजले आग्रह गरेको मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले जानकारी दिए ।
नेपालको समग्र खेलकुद क्षेत्रको विकासका साथै अन्तराष्ट्रिय लगानी भित्राउने कुरामा समेत छलफल भएको थियो ।
यसअघि मन्त्रीस्तरीय बैठकको पहिलो दिन सोमबार नेपालको तर्फबाट मन्तब्य राख्दै मन्त्री गहतराजले डोपिङको अभियानलाई सार्थक बनाउने कुरामा जोड दिएका थिए ।