काठमाडौं । संयुक्त अरब इमिरेट्सको दुबईमा जारी खेलकुदमा एन्टी डोपिङ सम्बन्धी १७ औं एसिया/ओशिनिया क्षेत्र अन्तर सरकारी मन्त्रीस्तरीय बैठकको पहिलो दिन नेपालले आफ्नो प्रस्तुति राखेको छ ।
नेपालको तर्फबाट सहभागी भएका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले नेपालले खेलकुदमा एन्टी डोपिङको अभियानलाई सार्थक बनाउने कुरामा जोड दिएका थिए ।
मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले नेपालले राष्ट्रिय एन्टी डोपिङ संस्था बनाउने क्रममा निर्देशक समिति गठन गरी प्रक्रिया शुरु गरेको र आगामी दिनमा एन्टी डोपिङ सम्बन्धी नीति तथा कानुन निर्माण गरी खेललाई स्वच्छ बनाउन सकारात्मक योगदान दिने बताए ।
कार्यक्रममा नेपालको प्रयासको सहभागी राष्ट्रहरुले सराहना समेत गरेका थिए । बैठकमा ४५ देशको सहभागिता रहेको छ।
बैठकले सन् २०२२ देखि २४ सम्मका लागि रणनीति पारित गरेको छ । जस अनुसार खेललाई स्वच्छ बनाउन एन्टी डोपिङ संस्थाहरुलाई थप प्रभावकारी वनाउने कुरामा जोड दिइएको छ ।