काठमाडौं । नेपाल ओलम्पिक कमिटीले एनओसी अवार्डको घोषणा गरेको छ ।
एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षमा सोमबार बसेको बैठकले अवार्डको घोषणा गर्दै स्वतन्त्र अवार्ड निर्णय कमिटी गठन गरेको छ ।
बैठकमा उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्य र महासचिव निलेन्द्रराज श्रेष्ठको उपस्थिति थियो । कमिटीले पहिलो पल्ट प्रदान गर्न लागेको अवार्ड कार्यक्रम ओलम्पिक डेको अवसरमा जुन २३ मा हुनेछ ।
अवार्ड कमिटीका समन्वयकर्तामा गोपालसुन्दरलाल कक्षपति रहनु भएका छन् । त्यस अवसरमा अवार्ड निर्णय कमिटीको पहिलो बैठक बसेको थियो । त्यसका सदस्यमा विनयराज पाण्डे, पद्मकृष्ण श्रेष्ठ, गोपाल चित्रकार, गोपाल वस्नेत, महेन्द्र विष्ट, देवेन्द्र सुवेदी, किरण वज्राचार्य, गीता शाह, रिता विष्ट, दीपक विष्ट र अश्रत्य कार्की चौधरी रहेका छन् ।
यसमा कमिटीको कोही पनि पदाधिकारी र कर्मचारी रहेका छैनन् । कमिटीमा पूर्व खेलाडी र प्रशिक्षक, पत्रकार समावेश गरिएको छ । यस अगाडि कमिटीको १२ औं साधारण सभाका अवसरमा एनओसी अवार्ड दिने निर्णय भएको थियो । कमिटीले नौ फरक विधामा अवार्ड दिनेछ ।