पोखरा । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी जेठमा पोखरामा आयोजना हुने बताएका छन् ।
पोखरा रंगशालाको निरिक्षणका क्रममा बिहीबार पत्रकारहरुसंग कुराकानी गर्दै मन्त्री गहतराजले बैशाखमा स्थानीय तहको निर्वाचन भएकाले जेठको पहिलो वा दोस्रो हप्तामा नै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुने बताएका हुन् ।
पूर्वाधारको हिसाबले पोखरा रंगशाला उपयुक्त भएकाले बाँकी कामलाई जति सक्दो छिटो गरी पूर्णता दिनुपर्ने उनले बताए । मन्त्री गहतराजले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता भन्दा अगाडी स्वीमिङ र सुटिङ रेन्जको पूर्वाधार सम्पन्न गर्न नसकिने भएकाले ३२ मध्ये २ खेल भने काठमाडौंमा नै आयोजना गरिने समेत बताए । एसियन गेमका लागि खेलाडी छनोट गर्नुपर्ने भएकाले जति सक्दो चाँडो प्रतियोगिता आयोजना गर्नुपर्ने उनको भनाई थियो ।
उनले फुटबल मैदान, आर्चरी, टेनिस, क्रिकेट, स्क्वास, बक्सिङ लगायतका भौतिक संरचनाहरुको अवलोकन गरेका थिए । सो अवसरमा मन्त्रालयका सचिव दामोदर रेग्मी, परिषद्का निमित्त सदस्य सचिव कुलबहादुर थापाको पनि सहभागिता रहेको थियो ।
उनिहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेशकुमार गुरुङ, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका प्रमुख लक्ष्मण योगी लगायतको टोलीले रंगशाला लगायतका संरचनाहरुको बारेमा जानकारी गराएका थिए ।