काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिवको नयाँ नियुक्त र बर्खास्ती सम्बन्धि सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई सरेको छ ।
सदस्य सचिव सम्बन्धि विचाराधिन रहेको रिटको सुनुवाई गर्न न्यायाधीश दीपककुमार कार्की र मनोजकुमार शर्माको संयुक्त इजलासमा आइतबार पेसी तोकिएको थियो ।
तर, पछि अदालतले सुनुवाई ‘हेर्न नमिल्ने’ मा राखेको हो ।
सरकारले राखेपका तत्कालिन सदस्य सचिव रमेश सिलवाललाई गत कात्तिक १ गते बर्खास्त गरेको थियो ।
यस्तै मन्त्री परिषद्ले गत मंसिर १३ गते टंकलाल घिसिङलाई सदस्य सचिव नियुक्त गरेको थियो ।
तर, सिलवालले मन्त्री परिषद्को निर्णयविरुद्ध मुद्दा दर्ता गरेका थिए । सर्वोच्चले सिलवालले दायर गरेको रिटमा पछिल्लो नियुक्ति कार्यान्वयन नगर्नु भन्दै अल्पकालिन अन्तरिम आदेश दिएको थियो ।
युवा तथा खेलकुद मन्त्रालयले सदस्य सचिवको मुद्दा किनारा नलागेसम्मका लागि कुलबहादुर थापालाई राखेपको कार्यकारी अधिकार दिईसकेको छ ।