काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड २०७७ को पिपल्स च्वाइस विधाको मनोनयनमा परेका खेलाडीको नाम सार्वजनिक गरिसकेको छ ।
मनोनयनमा पर्ने खेलाडीमा एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, फुटबलकी एन्जिला तुम्बापो सुब्बा, टेबलटेनिसकी एलिना महर्जन, क्रिकेटका कुशल भुर्तेल र ब्याडमिन्टनका प्रिन्स दाहाल रहेका छन् ।
मनोनयनमा परेका खेलाडीको प्रदर्शन यस्तो रहेको छ ।
सन्तोषी श्रेष्ठ– एथलेटिक्स
सन्तोषी मध्यम दुरीको दौडकी अब्बल धाविका हुन् । उनले १३ औं सागदेखि २०७८ को प्रधानसेनापति हाफ म्याराथनसम्म सहभागिता जनाएको ९ वटै प्रतियोगिता स्वर्ण पदक हात पार्न सफल भएकी छन् ।
सन्तोषीले हाफ म्याराथनमा पहिलो स्वर्ण नेपालगन्ज हाफ म्याराथन २०७८ मा जित्दा निर्धारित दूरी १ घण्टा १८ मिनेट ४८ सेकेन्डमा पूरा गरेकी थिईन् ।
१३ औं सागमा १० हजार मिटरकी स्वर्णधारी सन्तोषीले २०७७ फागुनमा आयोजना भएको गोल्डेन स्प्रिन्ट मिटका उत्कृष्ट खेलाडी समेत हुन् ।
गणेशमान सिंह स्मृति १० के रोड रेस (२०७७) मा च्याम्पियन बन्दा सन्तोषीले ३७ मिनेट ५३ः४४ सेकेन्डको कीर्तिमान भंग गरेकी थिईन् ।।
एन्जिला तुम्बापो सुब्बा– फुटबल
एन्जिला तुम्बापो सुब्बा राष्ट्रिय महिला फुटबल टिमकी पहिलो रोजाइकी गोलकिपर हुन् ।
नेपाल एपीएफ क्लबकी गोलकिपर एन्जिलाले २०७७ फागुनमा सम्पन्न राष्ट्रिय महिला लिग एपीएफले जित्दा १२ खेलमा जम्मा १ गोलमात्र खाएकी थिईन् ।
उनले पाकिस्तानी राष्ट्रिय लिग च्याम्पियनसिपमा खेल्दा मासा युनाइटेडको कप्तानी समेत गर्ने अवसर प्राप्त गरिन् ।
एन्जिलाको जीवनमा आधारित फिल्म बन्दैछ जुन मिलन चाम्सको निर्देशन र प्रेमकुमार श्रेष्ठको निर्माण रहेको छ ।
एलिना मर्हजन– टेबलटेनिस
एलिना महर्जन नेपाली टेबलटेनिसमा दोस्रो वरीयतासम्म पुगेकी महिला खेलाडी हुन् ।
एलिनाले दक्षिण एसियाली खेलकुदको १२ र १३ औं संस्करणमा लगातार दुई पटक महिला टिम इभेन्टमा कांस्य पदक जित्न सफल भएकी थिईन् ।
एलिना खेलाडीमात्र नभएर स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीमा प्रशिक्षण समेत दिइरहेकी छन् र टेबलटेनिसको नयाँ प्रतिभा उत्पादनमा सक्रिय भएर लागेकी छन् ।
सामाजिक कार्यमा पनि क्रियाशील रहेकी एलिनाले १३ औं सागबाट प्राप्त पुरस्कारको आधा रकम कोरोना प्रभावित परिवारलाई खाद्यान्नलगायतमा सहयोग गरेकी थिइन् ।
टेबलटेनिस परिवारमा हुर्केकी एलिनाको दाइ राकेश महर्जन, बहिनी इरिका महर्जन र भाउजु नविता श्रेष्ठ सबै राष्ट्रिय खेलाडी हुन् ।
कुशल भुर्तेल– क्रिकेट
कुशल भुर्तेल नेपाली क्रिकेटले आशा गरेका प्रतिभावान खेलाडी हुन् ।
कुशलले ११ टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल्दा एक शतक तथा पाँच अर्धशतकसहित कुल ४ सय ९८ रन बनाउन सफल भएका छन् ।
कुशल आईसीसी टी–ट्वान्टी वरीयतामा ३१ औं स्थानमा रहेका छन् जुन नेपाली खेलाडीको अहिलेसम्मकै उत्कृष्ट वरीयता हो ।
कुशलले नेपालका लागि ६ एकदिवसीय अन्तर्राष्ट्रियमा एक अर्धशतकसहित एक सय ४४ रन जोडेका छन् ।
घरेलु क्रिकेटमा कुशल नेपाल पुलिस क्लबका भरपर्दा ओपनर हुन् ।
प्रिन्स दाहाल– ब्याडमिन्टन
प्रिन्स दाहाल विश्व ब्याडमिन्टन जुनियर वरीयताका नम्बर वान खेलाडी हुन् ।
घरेलु ब्याडमिन्टनमा पनि दबदबा कायम राखेका प्रिन्सले सिन्धुपाल्चोकमा तोप–२१ राष्ट्रिय ब्याडमिन्टनको सिनियरतर्फ रत्नजित तामाङलाई हराउन सफल भएका थिए ।
प्रिन्सले पुष्पलाल स्मृति ¥याङ्किङ राष्ट्रिय ब्याडमिन्टनमा सिनियरतर्फ लगातार दुई पटक उपाधि जितेका छन् भने उनी साइनो कप राष्ट्रिय ब्याडमिन्टनमा च्याम्पियन पनि बन्न सफल भए ।
उनले इन्डिया इन्टरनेसनल च्यालेन्जमा सिनियरतर्फ सहभागिता जनाएका थिए ।
२०२४ को ओलम्पिक प्रोजेक्टका लागि छनोट भएका प्रिन्स विश्वक वरियतामा सातौंदेखि तेस्रो हुँदै नम्बर वानसम्म पुगेका हुन् ।