काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड २०७७ को पिपल्स च्वाइस विधाको मनोनयनमा परेका खेलाडीको नाम सार्वजनिक गरेको छ ।
काठमाडौंमा आईतबार पत्रकार सम्मेलन गर्दै एनएसजेएफको खेलाडी छनोट समितिले मनोनयनमा परेका खेलाडीको नाम सार्वजनिक गरेको हो ।
मनोनयनमा पर्ने खेलाडीमा एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, फुटबलकी एन्जिला तुम्बापो सुब्बा, टेबलटेनिसकी एलिना महर्जन, क्रिकेटका कुशल भुर्तेल र ब्याडमिन्टनका प्रिन्स दाहाल रहेका छन् ।
पिपल्स च्वाइस विधाका विजेता खेल पत्रकार, राष्ट्रिय प्रशिक्षक र समर्थकको भोटिङबाट चुनिने छन् ।
पिपल्स च्वाइस विधाको लागि ईसेवाको मतभार ५० प्रतिशत रहेको छ ।
त्यसैगरी, सामाजिक सञ्जाल (फेसबुक लाइक) को मतभार २५ प्रतिशत, राष्ट्रिय प्रशिक्षकको मतभार १२ दशमलब ५ प्रतिशत र खेलपत्रकारको मतभार १२ दशमलब ५ प्रतिशत रहेको छ ।
स्पोर्ट्स अवार्ड चैत ८ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा हुने छ ।
एनएसजेएफले विगत वर्षहरुमा भन्दा यसपटक कार्यक्रम फरक ढंगले आयोजना गर्ने जनाएको छ ।
एनएसजेएफले यस पटकको अवार्डलाई दशक अवार्ड अर्थात दशक अघि नेपाली खेलकुद क्षेत्रमा इतिहास रचेका खेलाडीहरुलाई यो वर्ष सम्मानित गर्ने जनाएको छ ।
एक दशक अघिका उत्कृष्ट खेलाडीहरु यस पटक दशक अवार्डका लागि मनोनित हुनेछन् ।
सर्वोत्कष्ट दशक पुरुष खेलाडी, सर्वोत्कृष्ट दशक महिला खेलाडी, सर्वोत्कृष्ट दशक प्रशिक्षक, पारा एथलिट सम्मान, स्पेशल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड तथा पिपल्स च्वाइस अवार्ड गरी ८ विधामा मनोनयन हुने एनएसजेएफले जनाएको छ ।
दशक अवार्ड भएका कारण सर्वोत्कृष्ट युवा खेलाडीको विधा समावेश गरिएको छैन ।
पारा एथलिट, स्पेशल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड विजेता कार्यक्रमकै दिन घोषणा गरिने आयोजकले जनाएको छ ।
यस वर्षपनि दशक खेलाडी पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस गरी चार विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिनेछ ।
अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयासहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।