काठमाडौं । ओलम्पियन तथा नेपाल पुलिस क्लबकी फुलमाया क्याप्छाकीले ओलम्पिक डेका अवसरमा आयोजित सुटिङ प्रतियोगिताको महिला व्यक्तिगत एयर राइफलमा मंगलबार स्वर्ण जितेकी छन् ।
नेपाल ओलम्पिक कमिटीअन्तर्गतको स्पोर्ट्स फर अल कमिसनको तत्वावधानमा नेपाल सुटिङ संघद्वारा आयोजित प्रतियोगिताको महिला व्यक्तिगत एयर राइफलमा त्रिभुवन आर्मी क्लबकी कल्पना परियार दोश्रो तथा ललितपुरकी सुस्मिता नेपाल तेस्रो भए ।
पुरुष व्यक्तिगत एयर राइफलमा आर्मीका सुशे चौधरी पहिलो, आर्मीकै कुमार कार्की दोश्रो र पुलिसका हरिबहादुर थापा तेश्रो बने ।
महाराजगन्जस्थित नेपाल प्रहरी तालिम प्रतिष्ठानमा भएको प्रतियोगिताको पुरुष एयर पेस्तोलमा काठमाडौंका सुमन तुलाधरले स्वर्ण, काठमाडौंकै विपेश खड्काले रजत र आर्मीकाका पूर्णकुमार श्रेष्ठले कांस्य जिते । सोही स्पर्धाको महिलामा पुलिसकी सविता बस्नेत र सीमा तुलाधर तथा आर्मीकी हेमा चौधरीले क्रमशः शीर्ष तीन स्थान हात पारे ।
विजेतालाई नेपाल ओलम्पिक कमिटीका पूर्व अध्यक्ष ध्रुवबहादुर प्रधान, आयोजक सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठ, स्पोर्ट्स फर अल कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठ, महासचिव राजेश श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
एकदिने प्रतियोगितामा समावेश व्यक्तिगत ४ स्पर्धामा ८ का दरले ३२ खेलाडी सहभागी थिए ।