पोखरा । रेवान पोखरा भेट्रान्स टेनिस प्रतियोगिता अन्तर्गत सिनियर भेट्रान्सको उपाधि राजन पौडेलले जितेका छन् ।
आइतबार पोखरा रंगशालामा भएको फाइनल खेलमा गोपीबहादुर भट्टराईलाई ६–७, ६–२ र सुपरटाईमा १०–५ ले पराजित गर्दै पौडेलले सो उपाधिमा आफ्नो नाम लेखाएका हुन् ।
कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा सम्पन्न प्रतियोगिताको सिनियर भेट्रान्स डबल्सतर्फ गोपीबहादुर भट्टराई र धरमबहादुर लामिछाने प्रथम भए ।
फाइनल खेलमा गोपी÷धरम जोडीले नविन श्रेष्ठ र राजु गुरुङ्गको जोडीमाथि ६–३, ६–२ को नजिता निकाल्दै उपाधि चुम्न सफल भएका हुन् । प्रतियोगिताको नवप्रवेशितर्फको उपाधि भिष्मराज पौडेलले जित्दा राजेश गुरुङ्गले दोश्रो स्थानमा चित्त बुझाए ।
प्रतियोगितामा खुल्ला एकलतर्फका विजेताले नगद १५ हजार तथा दोश्रो हुनेले नगद ७ हजार ५ सय सहित ट्रफि पुरस्कार प्राप्त गरे । डबल्सतर्फ विजेताले नगद १० हजार तथा उपविजेताले नगद ५ हजार सहित ट्रफि पुरस्कार प्राप्त गरे भने नवप्रवेशितर्फका विजेता र उपविजेताले ट्रफि पुरस्कार प्राप्त गरे ।
विजयी खेलाडीहरुलाई कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरणबहादुर बानियाँ, पु्रस्कारका प्रायोजक विकास गुरुङ्ग , नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थ लगायतले नगद सहित पुरस्कार वितरण गरे ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बानियाँले कास्कीमा टेनिस खेलले ठूलै सफलता हाँसिल गरेको भन्दै खुशी व्यक्त गरे । उनले प्रतियोगितामा पुरस्कार राशि स्वरुप नगद २० हजार तथा बन्न लागेको टेनिस कोर्ट निर्माणार्थ २५ हजार नगद सहयोग गर्ने घोषणा गरे ।
त्यस्तै प्रतियोगिताको मुख्य प्रायोजक रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले पोखरामा आयोजना हुने टेनिसका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुले पोखरामा खेल पर्यटनको विकासमा ठूलो टेवा पु¥याएको औंल्याए । उनले रेवानले आगामी वर्षहरुमा पनि टेनिसको राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।