काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलाडीको स्वास्थ्यको विषयमा सधै संवेदनशील रहेको जनाएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार पत्रकार सम्मेलन गर्दै एन्फाले खेलाडीको विषयमा संघले सधै महत्वमा राखेको जनाएको हो ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत च्यासल युथ क्लबविरुद्धको खेलमा मछिन्द्र फुटबल क्लबका मिडफिल्डर मनिष डाँगीले गम्भीर चोट बोकेपछि खेलाडीको स्वास्थ्यको विषयमा एन्फाले आफ्नो भनाई राखेको हो ।
एन्फाका महासचिव इन्द्रमान तुलाधरले फिफा र एएफसीको गाइडलाइन अनुसारको संघले मेडिकल टिम राखिएको बताए । उनले मैदानमा ४ मेडिकल सम्बन्धित व्यक्ति सधै रहने गरेको बताए ।
'हामीले खेलाडीको सेफ्टीमा महत्व दिएका छौँ । सबैको मेडिकल गरेका छौँ, बीमा गरेका छौँ । प्रतियोगिताका लागि सुविधासम्पन्न २ एम्बुलेन्स राखेका छौँ,' महासचिव तुलाधरले भने, 'खेलाडीको स्वास्थ्यको अवस्थामा एन्फा चुकेको छैन । फिफाबाट समेत पारदर्शिताको लागि जानकारी हुने गरि आउनु पर्यो भनेर हामीले टेन्डर निकाल्यौं । जस अन्तर्गत इशाराले डाक्टर उपलब्ध गराएको छ । मैदानमा ४ मेडिकल पर्सन छ । एन्फा चुकेको छैन, कतै कमजोरी भयो की भनेर इशारासँग रिपोर्ट मागेका छौँ ।'
च्यासलका यानिक केचासँग जुध्न पुग्दा मनिष खेलको ६६ औं मिनेटमा मैदानमै बेहोस भएर ढलेका थिए । प्राथमिक उपचारपछि मनिषलाई ब्लु क्रस अस्पताल भर्ना गरिएको थियो । मनिष मंगलबार अस्पतालबाट डिस्चार्ज भईसकेका छन् ।
एन्फाका महासचिव तुलाधरले आफ्नो मेडिकल टिममा विश्वस्त रहेको र उनीहरु मनिषको स्वास्थ्यको विषयमा सफल भएको समेत बताए ।
'हाम्रो मेडिकल टिमले खेलाडीको उपचार गरेर सम्भव गरेका छन् । खेलाडीको स्वास्थ्य भन्दा ठुलो छैन तर कतै गल्ति भए आउने दिनमा सुधार गर्छौं,' तुलाधरले भने, 'हामी हाम्रो मेडिकल टिममा विश्वस्त छौँ । उनीहरु सफल भएको हामीलाई लागेका छौँ ।'
तुलाधरले मनिष मैदानमा घाइते हुँदाको समय डाक्टर मैदानमा नरहेको विषयमा इशारासँग स्पष्टीकरण मागिएको समेत बताए ।
यस्तै महासचिव तुलाधरले एन्फाको मेडिकल टिमका सबैले फिफा र एएफसीको कोर्ष गरिसकेको समेत बताए ।