काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले १६ औं संस्करणको एनएनआईपीए स्पोर्टस अवार्ड फागुन १७ गते आयोजना गर्ने भएको छ ।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनका क्रममा सघका महासचिव शिव सुन्दर गोथेले अवार्ड ललितपुर जिल्लाको गोदावरी नगरपालिकामा रहेको बज्र बाराही मन्दिर परिसरमा आयोजना हुने जानकारी गराए ।
अवार्ड २७ खेलका उत्कृष्ट खेलाडीलाई जनही १० हजारले सम्मान गरिनेछ ।
त्यसैगरी, उत्कृष्ट खेलाडीमध्ये एक पुरुष र एक महिलालाई सर्वोत्कृष्ट खेलाडी स्वरुप सम्मानपत्र तथा नगर १ लाखले सम्मान गर्ने आयोजकले जनाएको छ ।
त्यसैगरी, एक पुरुष तथा एक महिला प्रतिभाशाली खेलाडी सम्मान तथा एक पुरुष र एक महिलालाई उदयमान खेलाडी सम्मान प्रदान गरिनेछ । यस विधाका विजेताले जनही ५० हजार प्राप्त गर्नेछन् ।
एकजना पाका खेलकर्मीलाई ३५ हजार बराबरको गजराज आदर्श खेल व्यक्तित्व अवार्ड प्रदान गरिनेछ ।
एक खेलपत्रकारलाई एनएनआईपीए खेल पत्रकारीता पुरस्कार प्रदान गरिने समेत आयोजकले जानकारी गराएको छ । पत्रकारीता पुरस्कार प्राप्त गर्नेले २५ हजार प्राप्त गर्नेछन् ।
एक जनालाई वर्ष उत्कृष्ट पारा खेलाडी सम्मान प्रदान गरिनेछ । सो सम्मान प्राप्त गर्नेले १० हजार प्राप्त गर्नेछन् ।
कार्यक्रममा बोल्दै संघका मानार्थ अध्यक्ष दीपक विष्टले अवार्ड विभिन्न सहरका विभिन्न ठाउँमा आयोजना गर्ने तयारीका साथ अहिले गोदावरीमा गर्न लागेको बताए ।
‘आगामी दिनमा हामी यो अवार्डलाई काठमाडौं बाहिर गर्ने योजना पनि छ,’ विष्टले जनाए ।
गजराज जोशी ट्रस्टका मनिष जोशीले अवार्डलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।
‘देशका खेलाडीलाई बिलिन हुनबाट जोगाउन खेलकुद पत्रकार मञ्चले अवार्ड दिन थालेको थियोे । त्यस्तै खेलाडीहरुमा थप हौसला जगाउन एनएनआइपीएले अवार्डको आयोजना गरेको छ । यो अवार्डलाई सानो सहयोग गर्न पाउँदा म खुसि छु,’ जोशीले थपे ।
गोदारवरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले नगरपालिकामा अवार्ड आयोजना हुँदा खेलाडीमा उर्जा आउने प्रतिक्रिया दिए ।
‘खेलाडीसघले १६औं सस्करण आयोजना गर्ने अवसर दिएको छ । हामीले त्यसलाई बज्र बारही मन्दीरमा भब्य रुपमा गर्ने छौं । अवार्ड कार्यक्रम गोदावरीमा हुँदा त्यहाका खेलाडीलाई थप उर्जा आउने छ,’ मेयर महर्जनले बताए ।