काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिवको नयाँ नियुक्त र बर्खास्ती सम्बन्धि सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई स्थगित भएको छ ।
सदस्य सचिव सम्बन्धि विचाराधिन रहेको रिटको सुनुवाई पेशी नचढी स्थगित भएको अदालतले जनाएको छ । यस अघि रिटको पेशी आज सोमबारका लागि तोकेको थियो ।
अब रिटको पेशी फागुन २ गते हुने अदालतले जनाएको छ । यस अघि पनि पेशी नचढी सुनुवाई स्थगित भएको थियो ।
सरकारले राखेपका तत्कालिन सदस्य सचिव रमेश सिलवाललाई गत कात्तिक १ गते बर्खास्त गरेको थियो । यस्तै मन्त्री परिषद्ले गत मंसिर १३ गते टंकलाल घिसिङलाई सदस्य सचिव नियुक्त गरेको थियो ।
तर, सिलवालले मन्त्री परिषद्को निर्णयविरुद्ध मुद्दा दर्ता गरेका थिए । सर्वोच्चले सिलवालले दायर गरेको रिटमा पछिल्लो नियुक्ति कार्यान्वयन नगर्नु भन्दै अल्पकालिन अन्तरिम आदेश दिएको थियो ।
सदस्य सचिवको विवाद किनारा नलाग्दा राखेपको कामकारबाही ठप्प बनेको छ । जसले गर्दा खेल क्षेत्र मारमा परेको छ ।
गत साता सदस्य सचिव विवाद चाडो टुंगाउन मागसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ, नेपाल ओलम्पियन संघ र राष्ट्रिय खेलकुद परिषद- कर्मचारी संघले बिहीबार शान्तिपूर्ण बिरोधको कार्यक्रमको आयोजना गरेको थियो ।