काठमाडौं । नेपाल खेलकुद महासंघ (नेकोस) ले बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा प्रथम हुने नेपाली महिला भलिबल टिमलाई नगद सहित सम्मान गर्ने भएको छ ।
अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भई पदक प्राप्त गर्ने खेलाडी तथा टिमलाई प्रोत्साहन गर्ने नीति अनुरुप नेकोसले महिला भलिबल टिमलाई फागुन ७ नगद सहित सम्मान गर्ने भएको हो ।
काठमाडौंमा आईतबार सम्पन्न नेकोसको सातौं केन्द्रीय पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो ।
नेकोसले वर्षभरी गरेको प्रदर्शनका आधारमा खेलका सबै विधाहरुमा उत्कृष्ट हुने खेलकर्मी छनोट गरी नगद सहित सम्मान गर्ने समेत जनाएको छ ।
राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव विवादलाई पनि चाडै समाधान गर्न माग समेत नेकोसले गरेको छ ।
नवौं राष्ट्रिय खेलकुदको मिति तोक्न समेत माग गरेको छ ।
नेकोसको बैठकमा नेकोसका अध्यक्ष रमेश कुमार पौडेल, नेकपा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम महासंघका इन्चार्ज गोकुल बास्कोटा र नेकपा एमाले केन्द्रीय सदस्य रचना खड्काको उपस्थिति रहेको थियो ।