काठमाडौं । एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई दिदै आएको प्राविधिक सहयोग कोषलाई निरन्तरता दिने भएको छ ।
साउदी अरेबियामा शनिबार एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले एएफसीका महासचिव दातो विन्डसर जोन र सह महासचिव वाहिद कर्दनीलाई अनुरोध गरेपछि कोषले निरन्तरता पाउने भएको हो ।
अब एन्फाले एएफसीबाट विशेष कोषको रूपमा आर्थिक सहयोग प्राप्त गर्नेछ । उक्त रकमबाट सबै जिल्ला, प्रदेश र एन्फाका प्रशिक्षक र सबै विभागका प्रमुखको तलब पाउने एन्फाले जनाएको छ ।
एन्फा अध्यक्ष शेर्पाले गत नोभेम्बरमा बहराइनमा एएफसीका अध्यक्ष सलमान बिन इब्राहिम अल खलिफासँगको भेटमा प्रशिक्षकको पारिश्रमिकका लागि एएफसीबाट आर्थिक सहयोगलाई निरन्तरता दिन अनुरोध गरेका थिए ।