काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले स्पोर्टस लिडर मिट आयोजना गर्ने भएको छ ।
वर्तमान खेलकुदमा देखिएका समस्याको समाधान खोज्ने प्रयास स्वरुप एनओसीले घरेलु खेलकुदका सम्पूर्ण सरोकारवाला निकायलाई राखेप स्पोर्टस लिडर मिट आयोजना गर्न लागेको हो ।
माघ १४ गते आयोजना गर्ने तय भएको कार्यक्रममा नेपाली खेलकुदका मुख्य सरोकारवाला निकायले छलफलमा भाग लिनेछन् ।
एनओसी महासचिव निलेन्द्रराज श्रेष्ठले राष्ट्रिय खेलकुद विकास ऐन कार्यान्वयनको सन्दर्भमा देखिएको समस्या समाधानका लागि स्पोर्टस लिडर मिटको आयोजना गर्न लागिएको बताए ।
उनले संविधानको साझा अधिकार सुचिमा रहेको खेलकुदलाई कसरी पुलको रुपमा जोड्न सकिन्छ भन्ने उद्धेश्यका साथ कार्यक्रम गर्न लागिएको उल्लेख गरे ।
‘खेलकुद ऐनमा संघीय सरकार र स्थानीय सरकार कसरी जोडिने भन्ने प्रष्ट उल्लेख छैन । जसले धेरै अन्यौलता उब्जाएको छ । संघीय सरकार, प्रदेश र स्थानीय सरकारले बेग्ला बेग्लै कानुन बनाईरहेका छन् । सोही कारण खेलकुदको काम कारबाहीमा एकरुपता ल्याउन कार्यक्रम गर्न लागेका हौं ।’ उनले खेलपाटीसँग भने ।
एनओसीले काठमाडौं बाहिर कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ ।
स्पोर्टस मिटमा संघीय सरकारका युवा तथा खेलकुद मन्त्री, राखेपका सदस्य सचिव, प्रदेशका मन्त्री तथा सदस्य सचिव र राष्ट्रिय संघका अध्यक्षलाई छलफलमा बोलाउने तयारी एनओसीको छ ।
महासचिव श्रेष्ठले कानुनमा देखिएका अस्पष्टतालाई कसरी समन्व्य गरेर अघि बढ्ने भन्ने सन्दर्भमा छलफल केन्द्रित रहनेछ ।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएपनि सरकारले त्यसलाई लागु गर्न सकेको छन् । ऐनले निर्धारण गरेका मापदण्ड नपुग्दा धेरै राष्ट्रिय संघको निर्वाचन रोकिएर बसेको छ । ऐनकै सफल कार्यान्वयन नहुँदा खेलकुद भद्रगोल अवस्थामा छ ।