एजेन्सी । साबिकको विजेता कारोलिन वज्नीयाकी वुमेन्स टेनिस एसोसिएसन (डब्लुटिए) टेनिस टुर अन्तर्गतको डब्लुटिए फाइनल्सको पहिलो खेलमै पराजित भएकी छिन् ।
सिंगापुरमा आइतबार भएको खेलमा डेनमार्ककी वज्नीयाकीलाई चेक रिपब्लिककी कारोलिना प्लिस्कोभाले पराजित गरिन् । सेतो समूहमा रहेकी वज्नीयाकीलाई प्लिस्कोभाले ६ - २ र ६ -४ को सेटमा हराएकी हुन् ।
यस्तै युक्रेनकी एलिना स्विटोलिनले चेक रिपब्लिककी पेट्रा कभिटोभालाई ६ - ३ र ६ - ३ को सेटमा हराईन् ।
सिंगापुरमा जारी प्रतियोगितामा शीर्ष वरीयताका आठ खेलाडीले डब्लुटिए फाइनल्समा प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी ८ खेलाडीलाई ह्वाइट र रेड समूहमा विभाजन गरिएको छ ।
रेड समूहमा नोमी ओसाका, स्लोअनी स्टेफेन्स, एन्जलिक केर्बेर र किकी बेर्टेन्स रहेका छन् ।
राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष २ टोलीले सेमिफाइनलमा खेल्ने छन् ।