काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले टिमको कप्तान परिवर्तन गर्ने अधिकार नेपाल क्रिकेट संघ (क्यान) सँग रहेको बताएका छन् ।
मुख्य प्रशिक्षकको रुपमा कार्यभार सम्हालेपछि पहिलो पटक बिहीबार आयोजित पत्रकार सम्मेलनमा पुबुदुले कप्तान परिवर्तनको अधिकार क्यानको भएको बताए ।
'मैले क्यान र खेलाडी दुबै पक्षसँग छलफल गरेको छु । क्यानको पक्षबाट भनेका छन् कप्तान परिवर्तन हुने छैन । त्यो निर्णय गर्ने क्यानको अधिकार हो । अब त्यहिँ नै निर्णय हुनेछ,' पुबुदुले भने ।
क्यानले गत महिना ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीप लामिछानेलाई कप्तान चयन गरेको थियो । क्यानले कप्तान मल्लसँगै उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई समेत जिम्मेवारीबाट हटाउने निर्णय गरेको थियो।
केन्द्रिय सम्झौता (सेन्ट्रल कन्ट्रयाक्ट)को विषयमा क्यानसँगको सम्झौता विपरित सञ्चारमाध्यममा अभिव्यक्ति दिएको भन्दै मल्लसहित चार खेलाडी कारबाहीमा परेका थिए ।
क्यानले मल्ल र दीपेन्द्रसहित सोमपाल कामी र कमल सिंह ऐरीलाई सन् २०२२ को केन्द्रिय सम्झौताबाट सुरुको ६ महिनाको लागि सहभागी नगराउने निर्णय गरेको थियो ।
यस्तै प्रशिक्षक पुबुदुले विश्वकप छनोटका लागि ३० खेलाडीलाई क्याम्पमा बोलाउने समेत बताए ।
'टी-ट्वान्टी विश्वकप छनोट फेब्रुअरीको मध्येमा हुँदैछ । सम्पूर्ण योजना पूरा भईसकेको छ । हामी चाडै क्लोज क्याम्प गर्दैछौँ,' प्रशिक्षक पुबुदुले भने, 'हामीले ३० खेलाडी छनोट गर्नेछौँ । दुई चरणमा क्याम्प आयोजना गर्नेछौँ ।'
प्रशिक्षक पुबुदुले छनोट अघि केहि सिरिजका लागि छलफल भएको समेत बताए ।
'छनोट तयारीका लागि केहि टी-ट्वान्टी सिरिजका लागि छलफल भएको छ तर पक्का भएको छैन । तर, हामी चाडै घोषणा गर्छौ,' उनले थपे ।