काठमाडौं । इंग्लिस कप्तान जोए रुट मान्छन्, बक्सिङ डे टेस्टमा उनी अष्ट्रेलियाविरुद्ध शतक बनाउन सक्षम हुनेछन् ।
ब्रिसवेन र एडिलेडमा भएका सुरुआती दुई टेस्ट गुमाएपछि इंग्ल्यान्डमाथि सिरिजमा पुर्नआगमन गर्नै पर्ने दबाब छ ।
आइतबारदेखि मेलबर्नमा तेस्रो टेस्ट सुरु हुनेछ र त्यसमा पनि पराजित हुने हो भने इंग्ल्यान्डले एजेस सिरिज नै गुमाउने छ।
यस्तोमा रुटको योजना हो, शतक बनाएर इंग्लिस क्रिकेट समर्थकलाई क्रिसमसको उपहार दिने ।
उनी भन्छन्, ‘ब्याटिङ गर्ने क्रममा मैले राम्रो महसुस गरिरहेको छुं । मलाई आत्मविश्वास पनि छ, अबको तीन टेस्टमा ब्याटबाट मैले राम्रो गर्नेछुं । हामी सबैले राम्रो खेलेर हाम्रा समर्थकलाई क्रिसमसमा खुसी बनाउनु छ ।’
सिरिजमा अहिलेसम्म योर्कसायरका यी ब्याट्सम्यानले दुई अर्धशतक बनाएका छन् । त्यसमा उनको व्यक्तिगत उच्च स्कोर ८९ रन रहेको छ, जुन उनले पहिलो टेस्टमा बनाएका थिए ।
उनले ब्याटबाट ठीकठीकै रन बनाइरहेको भए पनि टिमका अन्य ब्याट्सम्यानले भने निकै खराब खेलिरहेका छन् र यो नै इंग्ल्यान्ड टिमको सबैभन्दा ठूलो समस्या रहेको छ ।