नारायण क्षेत्री
पोखरा । काठमाडौंमा हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको छनौट खेल बिहीबारदेखि पोखरामा शुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा कास्कीले तनहुँमाथि ४ विकेटको जित निकालेको छ ।
खेलमा पहिला ब्याटिङ गरेको तनहुँले निर्धारित ४० ओभर खेल्दै १ सय ८० रनको योगफल तयार पार्यो । तनहुँको तर्फबाट अभिषेक बस्नेतले सर्वाधिक ७० रन बनाए ।
७१ रनको सामना गरेका उनले ५ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै दिनेश बुढामगरले ४३ रन जोडे । कास्कीको बलिङतर्फ अमृत गुरुङ्गले ३, कृष्ण पौडेलले २ तथा कप्तान विपिन खत्रीले १ विकेट लिए ।
जितका लागि १ सय ८१ रनको लक्ष्य पछ्याएको कास्कीले ३०.४ ओभरमा मात्रै ६ विकेट गुमाएर जित हाँसिल गर्यो । कास्कीको तर्फबाट म्यान अफ द म्याच अनिल गुरुङ्गले ७० तथा विद्यान श्रेष्ठले ६६ रन जोडे ।
७० बलको सामना गरेका अनिलले आफ्नों पारीमा ८ चौका तथा २ छक्का प्रहार गरे भने विद्यानले १० चौका हानेका थिए । तनहुका बलर चन्द्रकान्त पौडेलले ३, अभिषेक बस्नेतले २ तथा दिवस आचार्यले १ विकेट लिए ।
प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङ्गले खेलाडीहरु निश्चित लक्ष्यका साथ खेल क्षेत्रमा लाग्नुपर्नेमा जोड दिए । खेलाडीहरुले खेल क्षेत्रमा ठूलो योगदान दिएको बताउदै उनले खेलकुद क्षेत्रलाई व्यवसायिक बनाउन तर्फ राज्य लाग्नुपर्नेमा जोड दिए ।
त्यस्तै यु्वा यद्यमी मञ्च गण्डकीका अध्यक्ष सुनिलबहादुर भट्टराईले यसअघि पनि मञ्चले कास्की क्रिकेटसंग विभिन्न समयमा सहकार्य गर्दै आएको बताउँदै आगामी दिनहरुमा पनि निरन्तरता दिने बताए ।
प्रतियोगितामा कास्की, तनहुँ, स्याङजा र नवलपुर गरी ४ टिमको सहभागिता रहेको छ ।