काठमाडौं । नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गरेको छ ।
धनगढीको फाप्ला क्रिकेट मैदानमा गण्डकी प्रदेशलाई १ सय १७ रनले पराजित गरेको हो ।
जितसँगै एपीएफले समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।
तीन मध्ये दुई खेल जितेको सुदुरपश्चिम प्रदेश भने समूहमा दोस्रो हुँदै अन्तिम चारमा प्रवेश गरेको छ ।
तीन मध्ये एक जित हात पारेको प्रदेश नं. २ र तीनवटै खेलमा पराजय भोगेको गण्डकी भने प्रतियोगिताबाट बाहिरिएका छन् ।
सेमिफाइनलमा एपीएफले समूह ‘ए’ को उपविजेता लुम्बिनी प्रदेश तथा सुदुरपश्चिमले समूह ‘ए’ को विजेता प्रदेश नं. १ विरुद्ध खेल्नेछन् ।
बिहीबारको खेलमा एपीएफले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याउने क्रममा गण्डकीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै केवल ३३ रन बनाउन सक्यो ।
कप्तान शिला क्षेत्रीले सर्वाधिक ८ रन जोडिन् ।
गण्डकीका लागि ब्याटिङ गर्न आएका सुरुआतका चार खेलाडी शुन्य रनमै आउट भए ।
एपीएफका लागि करुणा भण्डारी र सुष्मा श्रेष्ठले समान दुई–दुई विकेट हात पारे ।
सोनु खड्का, सुमन विष्ट र सिता राना मगरले एक–एक विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ५० रन जोडेको थियो ।
एपीएफका लागि ममता चौधरीले सर्वाधिक ४३ रन बनाईन् । ३० बलको सामना गर्दै ममताले ६ चौका प्रहार गरिन् ।
रोमा थापा र सरिता मगरले समान २६–२६ रन तथा ज्योती पाण्डेले २४ रनको योगदान गरिन् ।
गण्डकीका लागि मनिशा उपाध्याले १ विकेट हात पारिन् ।