काठमाडौं । सुदुरपश्चिम प्रदेश प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
धनगढीको फाप्ला क्रिकेट मैदानमा प्रदेश नं. २ लाई ८७ रनले पराजित गर्दै सुदुरपश्चिम समूह ‘बी’ बाट अन्तिम चारमा प्रवेश गरेको हो ।
सुदुरपश्चिम प्रदेशको जितसँगै नेपाल एपीएफ क्लब पनि अन्तिम चारमा प्रवेश गरेको छ ।
यता पराजयपछि भने प्रदेश २ प्रतियोगिताबाट बाहिरिएको छ ।
प्रतियोगिता अन्तर्गत सुदुरपश्चिमले तीन मध्ये दुई खेल तथा एपीएफले खेलेका दुबै खेल जितेको छ । यता प्रदेश २ ले भने तीन मध्ये केवल एक खेलमा जित हात पार्न सक्यो ।
यसै समूहमा रहेको गण्डकी प्रदेशले खेलेका दुबै खेलमा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिसको छ । गण्डकीले अन्तिम खेल एपीएफविरुद्ध खेल्नेछ ।
बिहीबारको खेलमा सुदुरपश्चिमले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश २ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर केवल ५६ रन जोड्न सक्यो ।
प्रदेश २ का लागि साना प्रविणले सर्वाधिक १४ रन तथा बिमला मगरले १२ रनको जोडे ।
सुदुरपश्चिमका लागि कविता जोशी र लक्ष्मी साउदले समान दुई–दुई विकेट हात पारे । इश्वरी विष्टले एक विकेट लिईन् ।
यस अघि पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय ४३ रन जोडेको थियो ।
सुदुरपश्चिमका लागि विन्दु रावलले अविजित ५० रनको अर्धशतकीय इनिङ्स खेलिन् ।
रुवी पोदारले २१ र डोली भट्टले १५ रन जोडे ।
प्रदेश २ का लागि बिमला मगरले सर्वाधिक २ विकेट हात पारिन् । अनुराधा चौधरी र सानु प्रविणले एक–एक विकेट लिए ।