काठमाडौं । लुम्बिनी प्रदेश प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल नजिक पुगेको छ ।
समूह ‘ए’ अन्तर्गत फाप्ला क्रिकेट मैदानमा कर्णाली प्रदेशलाई १० विकेटले पराजित गर्दै लुम्बिनी सेमिफाइनल नजिक पुगेको हो ।
मैदान भिजेका कारण ६ ओभरमा झारिएको खेलमा लुम्बिनीले केवल १८ रनको लक्ष्य पाएको थियो ।
सो लक्ष्य लुम्बिनीले ३ दशमलब १ ओभरमा कुनै पनि विकेट नगुमाएर पुरा गर्यो ।
लुम्बिनीका लागि लक्ष्मी चौधरी १२ र नेरी थापा ५ रनमा अविजित रहे ।
यस अघि कर्णालीले ६ ओभरमा ३ विकेट गुमाएर १७ रन जोडेको थियो ।
कर्णालीका लागि कप्तान आयुशा टन्डन र दिक्ष्या पुरीले समान ७–७ रन जोडे ।
लुम्बिनीका लागि सुस्मिता भुषालले दुई तथा नेरी थापाले एक विकेट हात पारे ।
चार टोली रहेको यस समूहमा लुम्बिनीले लगातार दोस्रो जित हात पार्दै दुई खेलबाट चार अंक जोडेको छ ।
यता आफ्नो पहिलो खेल जितेको प्रदेश नं. १ को दुई अंक रहेको छ ।
कर्णालीले भने लगातार दुई खेलमा पराजय भोगेको छ भने बागमती प्रदेशले पनि पहिलो खेलमा पराजय भोगेको थियो ।