काठमाडौं । कप्तान ज्ञानेन्द्र मल्ल सहित कारबाहीमा परेका चार खेलाडीले नेपाल क्रिकेट संघ (क्यान)ले गरेको निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन् ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मल्ल सहितका खेलाडीले क्रिकेटमा देखिएका सबै समस्याको हल गर्नुपर्ने भन्दै तत्काल संवाद अघि बढाउन क्यानलाई आग्रह गरेका हुन् ।
क्यानको निर्णयले क्रिकेटमा भविष्य खोजिरहेका खेलाडीले ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था आउन नदिन समेत खेलाडीहरुले अपिल गरेका छन् ।
‘क्यानले यस निर्णयमा पुनर्विचार गरोस् भन्ने चाहन्छौं । हामी सबै एउटै परिवार हौं । एकै ठाउँमा बसेर संवादबाट निकास निकालौ भन्ने चाहेका छौं ।’ मल्लले पत्रकारसँग भने ।
उनले आफुहरु संवादका लागि तयार रहेको भन्दै क्यानले निर्णय पुनर्विचार गर्न आवश्यक रहेको बताए ।
मल्लले राष्ट्रिय टिमभित्र आफुले गुट बनाएको आरोप निराधार रहेको बताए । ‘कप्तान बनेपछि मलाई लाग्दैन मैले टिमभित्र छुट्टै गुट बनाउनुपर्छ ।’ उनले भने ।
'क्यानले जे गरेको छ, यति कारबाही हुनुपर्छ जस्तो लाग्दैन । कारबाही र वर्गिकरणको विषयमा पुनर्विचार होस भन्ने चाहन्छौं ।' उनले भने ।