काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले राष्ट्रिय क्रिकेट टिमका खेलाडीमाथि गरिएको कारबाही पुर्नबिचार गर्न आग्रह गरेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीलाई शुक्रबार मन्त्रालयमा बोलाएर मन्त्री गहतराजले खेलाडीमाथि गरिएको कारबाहीमा असन्तुष्टि जनाएका हुन् ।
मन्त्री गहतराजले नेपाललाई विश्वसामु चिनाउन योगदान गरेका खेलाडीलाई दुरुत्साहित तरिकाले कारबाही गर्नु गलत भएको बताए ।
उनले खेलाडी र क्यानबीच देखिएको समस्या उपयुक्त विधिबाट समाधान गर्नुपर्नेमा जोड दिएको खेलकुद मन्त्रीका प्रेस संयोजक संगिन शर्माले बताएका छन् ।
मन्त्री गहतराजले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितालाई केन्द्रित गर्दै क्रिकेटमा देखिएको समस्या समाधान गर्न क्यानका पदाधिकारीलाई निर्देशन दिएका छन् । उनले खेलाडीको वर्गिकरणको विषयमा चासो राख्दै खेलाडीमाथि गरिएको कारबाहीले गलत सन्देश प्रवाह भएको बताए ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आफुहरुले प्रमाण पुर्याएर खेलाडीमाथि कारबाही गरेको बताएका थिए ।
उनले कप्तान सहित खेलाडीमाथि गरिएको कारबाही गलत नभएको जिकिर गरेका थिए ।
राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल सहित चार खेलाडीलाई क्यानले कारबाही गरेको छ । मल्ल र उपकप्तान दिपेन्द्र सिंह ऐरीको जिम्मेवारी खोस्दै सोमपाल कामी र कमल सिंह ऐरीलाई सन् २०२२ को सुरुवाती ६ महिना तलब नदिने निर्णय गरेको छ ।
क्यानको पछिल्लो कदमबारे प्रधानमन्त्री शेरबहादुर देउवाले समेत चासो राखेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्यान र खेलाडीको विवादमा ध्यानाकर्षण गराएपछि प्रधानमन्त्रीले क्यानका अध्यक्षलाई फोन गरेर चासो राखेका थिए ।